अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१९ | Colorodo: 02:34

पत्रकार खाशोज्जी हत्यामा पाँच जनालाई मृत्युदण्डको सजाय

बिआरटीनेपाल २०७६ पुष ७ गते ८:२३ मा प्रकाशित

साउदी अरबको एक अदालतले पत्रकार जमाल खाशोज्जीको हत्यामा संलग्न भएको ठहर गर्दै पाँच जनालाई मुत्युदण्डको सजाय सुनाएको छ । तीन जनालाई सबै जोडेर २४ वर्षको जेल सजाय सुनाइएको छ । साउदी सरकारका आलोचक पत्रकार खाशोज्जीको २०१८ अक्टोबर २ तारिखमा टर्कीको राजधानी इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूताबासमा हत्या भएको थियो ।

सुरुमा साउदी अरबले खाशोज्जीको हत्या भएको स्वीकारै गरेको थिएन । तर अन्तर्राष्ट्रिय दबावसँगै खाशोज्जीको हत्या भएको स्वीकार गरेको साउदी अरबले क्राउन प्रिन्स मोहम्मद बिन सलमानको संलग्नता अस्वीकार गरेको थियो । सेप्टेम्बरमा सलमानले सार्वजनिक रुपमा खोशोज्जीको हत्या गरेको जिम्मेवारी लिएका थिए ।

यसअघि अमेरिकी खुफिया एजेन्सी सीआईए र पश्चिमा देशका सरकारले साउदीका क्राउन प्रिन्सले खाशोज्जीको हत्याको आदेश दिएको दाबी गरेका थिए । सरकारी अभियोजकका अनुसार क्राउन प्रिन्सका सल्लाहकार सउद अल खतानीसँग सोधपुछ गरिएको थियो, तर उनीमाथि कुनै आरोप लगाइएको छैन । यो घटनामा टर्कीले १८ संदिग्धलाई बुझाउन माग गरेको थियो, जसमा १५ एजेन्ट थिए र उनीहरु हत्याको योजना सफल बनाउन इस्तानबुल पुगेको टर्कीको दाबी थियो ।

तर साउदीले टर्कीको माग अस्वीकार गरेको थियो । तर गत जनवरीमा खाशोज्जीको हत्याको मुद्दामा ११ अभियुक्तबारे रियादमा सुनुवाई सुरु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू