अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३१ | Colorodo: 01:46

अष्ट्रेलियाका प्रधानमन्त्रीद्धारा क्षमा याचना

बिआरटीनेपाल २०७६ पुष ४ गते ८:३५ मा प्रकाशित

अट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा आगलागीको घटना भइरहेको बेला आफू पारिवारिक भ्रमणमा रहेकोमा क्षमा याचना गर्नुभएको छ । शुक्रबार बिहान जारी गरेको वक्तव्यमा उहाँले आफू भ्रमण रद्ध गरेर स्वदेश फर्किन लागेको उल्लेख गर्नुभयो । देशमा आगलागीको घटना भइरहेका बेला प्रधानमन्त्री भने पारिवारिक भ्रमणमा रहेको भन्दै आलोचना भएपछि उहाँले क्षमा याचना गरेका हुन् ।

अष्ट्रेलियाको न्यु साउथ वेल्समा आगलागी जारी रहेको र नियन्त्रणको प्रयास असफल भइरहेको अधिकारीहरुले जनाएका छन् । राजधानी सिड्नीमा रहेको प्रधानमन्त्री निवासअगाडी प्रदर्शनकारीहरुले बिहीबार प्रधानमन्त्री विरुद्ध प्रदर्शन गरेका थिए । उनीहरुले जलवायु परिवर्तनका बारेमा तत्काल कदम चाल्न प्रधानमन्त्री मोरिसनलाई आग्रह पनि गरेको स्थानीय सञ्चार माध्यम ‘स्पेशल ब्रोडकास्टीङ सर्भिस (एसबीएस)’ले उल्लेख गरेको छ ।

अष्ट्रेलियामा प्रधानमन्त्रीले जनवरीमा बिदा लिने प्रचलन रहेकोमा यस पटक उहाँले डिसेम्बरमा बिदा लिएका हुन् । जनवरीमा जापान र भारतको भ्रमण गर्ने तालिका रहेकाले डिसेम्बरमै बिदा लिएको मोरिसनले बताउनुभयो । “मैले गहिरो पश्चाताप व्यक्त गर्दै माफी याचना गर्न चाहन्छु, देशमा ठूलो आगलागीको घटना भइरहेको अवस्थामा म पारिवारिक भ्रमणमा रहेँ,” मोरिसनले भन्नुभएको छ ।

उहाँले आगलागी र त्यसको नियन्त्रण तथा घाइतेहरुको उपचारका लागि भइरहेको प्रयास सम्वन्धी जानकारी आफु नियमित रुपमा लिइरहेको उल्लेख गर्नुभयो । अष्ट्रेलियाका ठाउँ ठाउँमा लागेको आगो निभाउनका लागि अग्निनियन्त्रकहरू परिचालित भएका छन् । देशका कम्तीमा एक सय भन्दा बढी ठाउँमा फैलिएका डढेलो निभाउन उनीहरुले संघर्ष गरिरहेका अधिकारीहरुले जनाएका छन् ।

सिड्नीको दक्षिणपश्चिममा डढेलो नियन्त्रणका लागि खटिएका दुई अग्निनियन्त्रकको मृत्यु भइसकेको छ । सेप्टेम्बरदेखि हालसम्म यी डढेलोका कारण अष्ट्रेलियामा ८ जनाको ज्यान गइसकेको छ भने ७०० भन्दा धेरै घर नष्ट भएका छन् । दशौँ लाख हेक्टर जमिन आगोको चपेटामा परेको छ । सबैभन्दा धेरै गर्मी भएको दुई दिनको कीर्तिमानी रेकर्ड बनाएकै बेला अष्ट्रेलियामा आगलागी भएको हो । सिड्नीमा तापक्रम अहिलेसम्मकै सबैभन्दा बढी ४७ डिग्री सेल्सीयससम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू