अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लागेको छ । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सबाट महाभियोग लगाइने ट्रम्प तेस्रो अमेरिकी राष्ट्रपति हुनुभएको छ । ट्रम्प एन्ड्रु जोनसन र बिल क्लिन्टनपछि अमेरिकी इतिहासमा महाभियोगको सामना गर्ने तेस्रो राष्ट्रपति बन्नुभएको हो । यसअघि जोनसन र क्लिन्टनले पनि महाभियोगको सामना गरिसक्नुभएको छ ।
तल्लो सदनले पारित गर्दैमा महाभियोग प्रमाणित भने हुदैन । त्यसका लागि अमेरिकामा निकै शक्तिशाली मानिने माथिल्लो सदन अर्थात् सिनेटले पारित गर्नुपर्ने हुन्छ । उहाँ राष्ट्रपति रहने वा नरहने भन्ने सिनेटको निर्णयमा निर्भर हुनेछ । ट्रम्पले आफ्नो शक्तिको दुरुपयोग गरेको भन्ने आरोपको पक्षमा तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सका बहुमत सांसदले मतदान गरेका थिए । मतदान दलीय विभाजन अनुरुपै भयो । कसैले पनि पार्टी फ्लोर क्रस गरेनन् । अर्थात् पक्षमा मत दिने २३० डेमोक्र्याट र विपक्षमा मत दिने १९७ रिपब्लिकन सांसद थिए ।
दुई अभियोग सामना गरिरहेका ट्रम्पमाथि दोस्रो आरोप भने कंग्रेसलाई अवरुद्ध तुल्याएको भन्ने विषय छ । यस आरोपमा भने मतदान हुन बाँकी नै छ । राष्ट्रपतिको दौडमा पार्टीभित्रै प्रारम्भिक र पार्टीबाट उम्मेदवार बनिसकेपछि आफ्ना विरोधीहरुप्रति आलोचनाको कटू शब्दबाण प्रहार गर्ने ट्रम्पले यस समग्र प्रकरणलाई भने आफूमाथि डेमोक्र्याटहरुको ‘कू’ को संज्ञा दिनुभएको छ ।
सन् २०१६ को निर्वाचन अभियान र परिणामसँगै ट्रम्पको व्यवहार र आचरणले उहाँ सँग्लो रुपमा ह्वाइटहाउसबाट बाहिरिन सक्नुहोला भन्ने प्रश्न उठिसकेको थियो । अन्ततः उहाँमाथि महाभियोगको डण्डा बर्सिएको छ ।
तर, योसँगै प्रश्न उब्जेको छ कि अमेरिकी संसदको सबैभन्दा शक्तिशाली सदन सिनेटबाट पनि उहाँ विरुद्धको महाभियोग प्रस्ताव पारित होला त ? कति सजिलो छ महाभियोग प्रस्ताव पारित हुन ? ट्रम्प भन्दा अघिल्ला दुई राष्ट्रपति जसमाथि महाभियोग लगाइएको थियो किन भएन पारित ? अघिल्ला नजीरलाई हेर्ने हो भने ट्रम्पविरुद्ध ल्याइएको महाभियोग सिनेटबाट पनि पारित भएर ह्वाइटहाउसबाट ट्रम्प गलहत्तिनु पर्ला भन्न सकिने आधारहरु कमै छन् ।
त्यसको पहिलो छनक तल्लो सदनको मतादनमै देखिइसकेको छ । हाउस अफ रेप्रेजेन्टेटिभ्समा दलीय आधारमा मतदान भयो । कुनै पनि रिपब्लिकन सांसदले प्रस्तावको पक्षमा मत दिएनन् । यसो भन्नुको तात्पर्य माथिल्लो सदनमा पनि दलीय आधारमै मतदान हुने लक्षण देखिनु हो ।
तल्लो सदनले बहुमतले निर्णय गर्न सक्छ भने माथिल्लो सदन सिनेटबाट भने दुई तिहाई मतबाट नै प्रस्ताव पारित हुनुपर्छ । प्रस्ताव पारित गर्नका लागि आवश्यक पर्ने दुई तिहाई मत अर्थात् ६७ भोट माथिल्लो सदनमा डेमोक्र्याटहरुको छैन । बरु सांसदको संख्या नै पनि रिपब्लिकनको बढी छ । एक सय सदस्यीय सिनेटमा रिपब्लिकन ५३, डेमोक्र्याटस् ४५ र अरु दुई स्वतन्त्र सांसद छन् ।
त्यसैले त ट्रम्प डेमोक्र्याटस्हरुको बहुमत रहेको तल्लो सदनबाट पारित भएको प्रस्तावबाट आत्तिनुभएको छैन । बरु उहाँले सदनको कार्वाही नै अवज्ञा गरिदिनुभयो । बयानका लागि बोलाएको समितिको बैठक नै बहिष्कार गरेर उहाँले उल्टै तल्लो सदनका सभामुखमाथि तथानाम गाली गर्नुभयो ।
उहाँको कार्यालय ह्वाइट हाउसले त विज्ञप्ति निकालेरै सिनेटमा हुने सुनुवाइका क्रममा राष्ट्रपति निर्दोष साबित हुने कुरामा विश्वस्त रहेको जनाएको छ । यसका लागि चाहिँ नयाँ वर्ष २०२० को शुरुवातसँगै बोलाइने सिनेट बैठक नै कुर्नुपर्ने हुन्छ । आगामी वर्ष अर्थात् सन् २०२० मा हुने राष्ट्रपति निर्वाचनको मुखमै ट्रम्पले महाभियोग सामना गर्नुभएको छ । ह्वाइटहाउसमा कार्यकाल दोहोर्याउनका लागि उहाँ आफै यस निर्वाचनमा उम्मेदवार रहनुभएको छ । उहाँमाथिको आरोप सिनेटबाट पनि सिद्ध भएमा उहाँको उम्मेदवारी के हुनेछ भन्ने प्रश्न पनि सँगै उठेको छ ।
डेमोक्र्याटहरु महाभियोग लाग्नु नै ट्रम्पका लागि कालो धब्बा हो भन्दै अब उहाँलाई मतदाताले स्वीकार्न नसक्ने बताइरहेका छन् । रमाइलो चाहिं के छ भने महाभियोग लागेपनि ट्रम्पलाई राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार हुन र जितेर ह्वाइट हाउसमा फर्कन कुनै बाधा नहुने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । सिनेटले उहाँलाई भविष्यमा निर्वाचित पद लिन नपाउने भनेर अर्को प्रस्ताव पारित नगर्दासम्म महाभियोग लागेर पदच्यूत भएपनि आउँदो निर्वाचनमा उम्मेदवार हुन नरोक्ने बताइएको छ ।
सदनको अंंक गणितका कारण स्वयं डेमोक्र्याटहरुले पनि सिनेटबाट महाभियोग पारित हुने सम्भावना देखेका छैनन् । यो कदमले राष्ट्रपतिलाई आफ्नो कामप्रति उत्तरदायी बनाउन दबाब बढ्ने उनीहरुको तर्क छ । यो प्रकरणले आगामी निर्वाचनमा उहाँको लोकप्रियतामा कमी ल्याउन सकिन्छ कि भन्ने दाउ पनि डेमोक्र्याट्सहरुको देखिन्छ ।