अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिरुद्द महाअभियोग पारित भएको छ । उनी महा अभियोग लगाइएका तेस्रो अमेरिकी राष्ट्रपति बनेका छन् । अमेरिकी तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले ट्रम्पले आफ्नो शक्तिको दुरुपयोग गरे भन्ने आरोपको पक्षमा मतदान गरेको छ । मतदान अनुसार महाभियोग लगाउने पक्षमा २३० मत र विपक्षमा १९७ मत परेको थियो । अब त्यो मुद्दा माथिल्लो सदन सिनेट प्रवेश गर्नेछ जसले उनी राष्ट्रपति रहने वा नरहने भन्नेबारे निर्णय गर्नेछ ।
दुई महाभियोग आरोपहरू मध्येको यो ट्रम्प विरुद्ध एक थियो । दोस्रो आरोपको रूपमा रहेको कङ्ग्रेसलाई अवरुद्ध तुल्याएको विषयमा मतदानको सामना राष्ट्रपति ट्रम्पले गर्नेछन् । वासिङ्टन डिसीमा मतदान हुँदै गर्दा राष्ट्रपति ट्रम्प मिशिगनमा चुनावी सभालाई सम्बोधन गर्दै थिए ।
महाअभियोगले कसरी काम गर्छ ?
यसको प्रक्रिया अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्समा सुरु हुन्छ । त्यसका समितिहरूले सुनुवाइ र साक्षीसँग प्रश्नोत्तर गर्छन् । त्यसपछि तल्लो सदनमा महा अभियोग माथि मतदान हुन्छ । महाअभियोग पारित हुन २१८ मत चाहिन्छ । डेमोक्राटसंग अहिले ४३५ मध्ये २३३ मत छ । जुन अहिले पर्याप्त छ । त्यसपछि माथिल्लो सदनमा प्रधानन्यायधिसको नेतृत्वमा सुनुवाइ हुन्छ । कुनै राष्ट्रपतिलाई हटाउन सिनेटमा दुई तिहाइ सदस्यको अनिवार्य समर्थन चाहिन्छ । सिनेटमा १०० मध्ये डेमोक्र्याट दलको पक्षमा ४७ संसद् मात्रै छन् ।
त्यसैले राष्ट्रपति ट्रम्पलाई हटाउन लगभग असम्भव छ । यस अघि दुई वटा महाअभियोग यो चरण सम्म पुगेका थिए । सन १८६८ मा अमेरिकी १७ औँ राष्ट्रपति एन्ड्रु जोन्सन (Andrew Johnson) र अर्को १९९८ मा ४२ औँ राष्ट्रपति बिल क्लिन्टन (Bill Clinton) विरुद्ध महाअभियोग लगाइएको थियो । पर्याप्त सिनेटरहरूले साथ नदिए पछि दुवै महाअभियोग विफल भएको थियो ।
बारगेट काण्डका कारण महाअभियोग लगाइने भएपछि अमेरिकी ३७ औँ राष्ट्रपति रिचार्ड निक्सनले सन १९७४ मा राजिनामा दिएका थिए ।