अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५६ | Colorodo: 22:11

अस्ट्रेलियामा इतिहासकै तातो दिन, तापक्रम ४०.९ डिग्री

बिआरटीनेपाल २०७६ पुष २ गते ८:१९ मा प्रकाशित

अस्ट्रेलियामा इतिहासकै तातो दिन मापन गरिएको छ । औसत उच्चतम तापक्रम ४०.९ डिग्री सेल्सिअस पुगेपछि मंगलवार इतिहासकै सबैभन्दा तातो दिन बनेको मौसमविद्हरूले बताएका हुन् । यसअघि सन् २०१३ को जनवरी ७ मा ४०.३ डिग्री सेल्सिअस मापन गरिएको थियो । मंगलबार त्यसलाई पनि नाघेर तापमान ४०.९ डिग्री पुगेको मौसम विभागले जनाएको हो । सन् २०१९ मा अस्ट्रेलियामा सबैभन्दा कम पानी परेको पनि जनाइएको छ ।

पूर्व्तिर बहेको तातो हावाका कारण अस्ट्रेलिया तातेको उल्लेख गर्दै मौसम विभागले आउँदा दिनहरूमा उष्णलहर अझ खराबपूर्ण हुनसक्ने पूर्वानुमान गरेको छ । थुप्रै शहरमा अहिलेसम्मकै उच्च तापक्रम मापन गरिँदा मंगलवार मध्यभागका केही क्षेत्रमा ४५ डिग्री सेल्सिअसभन्दा बढी तापक्रम मापन गरिएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

साताको शुरुमै वेस्टर्न अस्ट्रेलियाको राजधानी पर्थको तापक्रम लगातार तीन दिन ४० डिग्री सेल्सिअस मापन गरिएको थियो । समुद्री सतहहरूमा चिसो र तातो तापक्रमबीचको फरक छ दशककै उच्च भएकोले यस्तो भएको जनाइएको छ । लामो खडेरीबाट प्रभावित अस्ट्रेलियाको कतिपय स्थानमा वर्षौँदेखि पानी नपर्दा माटोबाट वाष्प वायुमण्डलमा जान नसकेको र तापक्रम बढेको जनाइएको हो ।

अस्ट्रेलियाली मौसम विभागले मुलुकको तापक्रम सन् १९१० यता एक डिग्री सेल्सिअसले बढेको र त्यसमा धेरै तापक्रम सन् १९५० यता बढेको जनाएको छ । सबैभन्दा तातो १० वर्षमध्ये नौ वटा सन् २००५ यता मापन भएको र सन् २०१९ सबैभन्दा तातो चार वर्षमध्ये एक हुने पूर्वानुमान मौसमविदहरुको छ । उच्च तापक्रमका कारण खडेरी, डढेलो र बाढीको संख्या बढ्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू