अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१० | Colorodo: 19:25

पीपीएल– पोखरा पल्टनको लगातार दोस्रो हार, दुई हारपछि काठमाडौंको शानदार प्रदर्शन

बिआरटीनेपाल २०७६ पुष २ गते ८:०९ मा प्रकाशित

पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) ट्वेन्टी–२० क्रिकेटमा स्थानीय टोली पोखरा पल्टनले लगातार दोस्रो हार व्यहोरेको छ । बुधबार भएको दोस्रो खेलमा पोखराले विराटनगर टाइटान्ससित ४५ रनको हार व्यहोरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले भारतीय खेलाडी पुनित मेहराको अविजित ६१ रनको मद्दतले २० ओभरमा ५ विकेटको क्षतिमा १४५ रन बनाएको थियो । जवाफमा पोखराले एक बल खेल्न बाँकी छँदै सबै विकेट गुमाएर १०० रनमात्र बनाउन सक्यो । उद्घाटन खेल जितेको पोखराको यो लगातार दोस्रो हार हो भने पहिलो खेल हारेको विराटनगरको यो पहिलो जित हो ।

लगातार दुई हारपछि काठमाडौं गोल्डेन वारियर्स खेलमा फर्किएको छ । बुधबारै भएको पहिलो खेलमा कप्तान ज्ञानेन्द्र मल्लले शानदार शतक बनाएपछि काठमाडौंले एक्सपर्ट धनगढीलाई १०६ रनको फराकिलो अन्तरले हरायो । १७ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ५ विकेटको क्षतिमा १८५ रन बनाएको थियो । जवाफमा धनगढीले १६ ओभरमै ‘अलआउट’ हुँदै ७९ रनमात्र बनाउन सक्यो ।

यी खेलपछि सहभागी सबै ६ टोलीको समान २÷ २ अंक भएको छ । एक खेलमात्र खेलेको चितवन वारियर्स रनरेटमा अगाडि छ । तीन खेलबाट काठमाडौं दोस्रो तथा तीन खेलबाटै पोखरा तेस्रो स्थानमा छ ।

प्रतिक्रिया
लोकप्रिय