अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२७ | Colorodo: 21:42

पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको सजाँय

बिआरटीनेपाल २०७६ पुष १ गते ८:४१ मा प्रकाशित

पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्डको सजाँय सुनाइएको छ । इस्लामाबाद विशेष अदालतले देशद्रोह र संविधानको अवहेलना गरेको अभियोगमा उहाँलाई मृत्युदण्डको सजाँय सुनाएको हो । अदालतको तीन सदस्यीय बेञ्चले बहुमतको आधारमा फैसला सुनाएको हो ।

मुशर्रफलाई सन् २००७ को नोभेम्बर ३ मा संकटकाल घोषणा गरेकामा देशद्रोहको मुद्दा चलाइएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् । अदालतको फैसला अघि मुशर्रफले एक भिडियो सन्देशमार्फत आफ्नो अवस्थाबारे जानकारी लिन जाँच आयोगलाई आग्रह गर्दै आफुमाथि लगाइएको आरोपको खण्डन गर्नुभएको थियो । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफले सन् २०१३ मा आफ्नो पार्टी पाकिस्तान मुस्लिम लीग दोस्रो पटक सत्तामा आएपछि मुशर्रफविरुद्ध मुद्दा दायर गर्नुभएको थियो ।

इस्लामाबादको विशेष अदालतले सन् २०१४ को मार्च ३१ मा पूर्व सेनाध्यक्षसमेत रहेका मुशर्रफलाई देशद्रोहको मुद्दामा अभियुक्त बनाएको थियो । भारतसँगको कारगिल युद्धमा सेनाको संलग्नताको विषयले शरीफ र मुशर्रफबीच विवाद थियो । मुशर्रफ एक पटक मात्र विशेष अदालतमा उपस्थित हुनुभएको थियो । सन् २०१६ मा मुद्दा चलिरहेको अवस्थामा स्वास्थ्यमा समस्या आएको भन्दै मुशर्रफ दुबई जानुभएको थियो । उहाँको त्यहीं उपचार भैरहेको छ ।

सन् १९९८ मा सेना प्रमुख नियुक्त जनरल मुशर्रफले सन् १९९९ को अक्टोबरमा रक्तपातविहीन सैन्य विद्रोह गरेर सत्ता आफ्नो हातमा लिनुभएको थियो । सन् २००१ को जुनमा जनरल मुशर्रफले सेना प्रमुखमा रहँदै आफैलाई राष्ट्रपति घोषणा गर्नुभयो । सन् २००२ को अप्रिलमा एक विवादास्पद जनमत संग्रह गरेर मुशर्रफ पाँच वर्षसम्म राष्ट्रपति बन्नुभयो । सन् २००७ को चुनावपछि उहाँ फेरी राष्ट्रपति बनेपनि चुनावलाई सर्वोच्च अदालतले चुनौति दियो ।

यसपछि मुशरैफले मुलुकमा संकटकाल घोषणा गरी प्रधानन्यायाधीश इफ्तिखार चौधरीलाई हटाई नयाँ प्रधानन्यायाधीश नियुक्त गर्नुभयो । नयाँ प्रधानन्यायाधीशले चुनावलाई वैधानिकता प्रदान गरेपनि सन् २००८ मा उहाँले राष्ट्रपति पदबाट राजीनामा दिनुभएको थियो । सत्ताधारी दुई पार्टीले महाअभियोग लगाउन सहमति गरेपछि उहाँले राजीनामा दिनुभएको थियो । यसपछि उहाँ चार वर्ष बेलायत र दुबई निर्वासनमा जानुभयो । सन् २०१३ मा स्वदेश फर्केर निर्वाचनमा सहभागी हुन खोजे पनि उहाँलाई सामेल हुन दिइएन । मुशर्रफको पार्टीले पनि चुनावमा नराम्रो हार बेहोर्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू