अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४२ | Colorodo: 21:57

दिल्लीमा फेरि हिंसा: शान्त बन्न मोदीको आग्रह

बिआरटीनेपाल २०७६ पुष १ गते २०:५६ मा प्रकाशित

नयाँदिल्ली: भारतमा नागरिकतासम्बन्धी नयाँ कानूनको विरोधमा प्रदर्शन चर्किँदै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकता संशोधनलाई लिएर राजनीति बन्द गर्न आग्रह गरेका छन्।

देशभरि विरोध प्रदर्शन विस्तार भइरहेका बेला भारतीय प्रधानमन्त्री मोदीले नागरिकतासम्बन्धी नयाँ कानूनको बचाउ गर्दै भने, ‘नागरिकता संशोधन सोचविचार गरेरै गरिएकाले यसमा ‘गुरिल्ला’ राजनीति बन्द गर्नु उचित हुनेछ।’ संशोधनपछि आएको नागरिकतासम्बन्धी नयाँ कानूनको विरोधमा भारतको पश्चिम बंगाल, कोलकाता, तमिलनाडु राज्यलगायतका शहरी क्षेत्रमा विभिन्न दलको सक्रियतामा भारतीय मुसलमान समुदायले हजारौँको संख्यामा केही दिनदेखि प्रदर्शनलाई जारी राखेका छन्।

भारतीय मुसलमान समूहको सक्रियतामा भारतको राजधानी नयाँदिल्लीमा पनि मंगलवार बृहत् विरोध प्रदर्शन गरिएपछि प्रधानमन्त्री मोदीले शान्ति कायम राख्न आग्रह गरेका हुन्। मोदीले संशोधित नागरिकतासम्बन्धी कानूनबाट कोही पनि भारतीय नागरिक डराउनुपर्ने अवस्था नरहेको स्पष्ट पारे।

प्रधानमन्त्री मोदीले मुस्लिमहरूमा विपक्षीहरूले डर पैदा गराएको आरोपसमेत लगाएका छन् भने कानूनलाई क्रियान्वयनमा लान गृहमन्त्री अमित शाह दृढ देखिएका छन्।

केन्द्रीय गृहमन्त्री अमित शाहले विपक्षीले जतिसुकै विरोध गरे पनि कानून लागू गराउने बताए। शाहले भने, ‘म विपक्षलाई भन्न चाहन्छु कि राजनीतिक रूपमा जति सक्नुहुन्छ विरोध गर्नुस् तर मोदी सरकार यो लागू गराउन प्रतिबद्ध छ।’

दिल्लीदेखि पूर्वमा रहेको सीलमपुर मुस्लिम बहुल क्षेत्रमा मंगलवार भएका झडपमा केही सुरक्षाकर्मीसमेत घाइते भएका छन्। दिल्ली प्रहरीका संयुक्त आयुक्त आलोक कुमारले सलीमपुरको घटनामा २१ जना घाइते भएको र त्यसमा १५ जना सुरक्षाकर्मी रहेको बताए।

प्रहरीले लाठीचार्ज नगरेको र संयमता अपनाएको आलोक कुमारले जानकारी दिए। उनले भने, ‘प्रदर्शनकारी निकै आक्रामक बने पनि प्रहरीले संयमता अपनाएको छ। गोली चलाइएको छैन तर केही स्थानमा भीडलाई नियन्त्रण गर्न केही अ श्रुग्याँस प्रहार गरिएको छ।’ उनले आक्रमणकारीले दुईवटा प्रहरी चौकीमा क्षति पुर्याएको दावी गरे। – गोरखापत्र

राष्ट्रपति रामनाथ कोविन्दलाई भेटी फर्कँदै कांग्रेस नेताहरु

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू