अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०१ | Colorodo: 19:16

पृथ्वी प्रज्ञा–पुरस्कार शताब्दी पुरुष जोशी र दर्शन पुरस्कार प्रा डा मानन्धरलाई प्रदान

बिआरटीनेपाल २०७६ मंसिर २३ गते १५:११ मा प्रकाशित

काठमाडौँ, शताब्दी पुरुष सत्यमोहन जोशीलाई देशकै सर्वाधिक राशिको पृथ्वी प्रज्ञा–पुरस्कार वाङ्मय दिइएको छ । राष्ट्रपति निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी पुरुष जोशीलाई पुरस्कार रकम ४ लाख रुपैयाँ नगद सहित दोसल्ला र सम्मान पत्र प्रदान गर्नुभयो । त्यसै गरी नेपाल प्रज्ञा सामाजिक शास्त्र/संस्कृति/दर्शन पुरस्कार प्रा डा त्रिरत्ननारायण मानन्धरलाई प्रदान गरियो । प्रत्येक दुई वर्षमा प्रदान गरिने सो पुरस्कारको राशि रु एक लाखसहित दोसल्ला र सम्मान पत्र छ ।

नेपाल प्रज्ञा भाषा पुरस्कार प्रा डा टङ्कप्रसाद न्यौपानेलाई प्रदान गरियो । प्रत्येक दुई वर्षमा दिइने उक्त पुरस्कारको राशि रु एक लाख, दोसल्ला र सम्मान पत्र छ । नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार (२०७५) मदन रेग्मी, नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार (२०७६) भागीरथी श्रेष्ठ, नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७५) पहाडी र हिमाली क्षेत्रमा बोलिने मातृभाषा साहित्यका लागि अमर तुम्याहाङ, नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७५) तराई–मधेसमा बोलिने मातृभाषा साहित्यका लागि अयोध्यानाथ चौधरी, नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७६) पहाडी र हिमाली क्षेत्रमा बोलिने मातृभाषा साहित्यका लागि अमृत योञ्जन तामाङ तथा नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७६) तराई–मधेसमा बोलिने मातृभाषा साहित्यका लागि अशोक थारुलाई प्रदान गरिएको थियो ।

उक्त पाँच वटै पुरस्कारको राशि रु एक लाख नगद, दोसल्ला र सम्मान पत्र छ । राष्ट्रपति भण्डारीले राष्ट्रिय कविता महोत्सव २०७६ मा विजयी कविलाई पनि पुरस्कृत गर्नुभयो । महोत्सवमा पहिलो स्थान हासिल गर्नुहुने धादिङका हेम प्रभासलाई रु ३५ हजार, दोस्रो स्थान हासिल गर्ने डोटीका सुभाषचन्द्र भण्डारीलाई रु २५ हजार, तेस्रो स्थान हासिल गर्नुहुने लमजुङका प्रज्वल अधिकारी, सोलुखुम्बुकी शान्ति शर्मा र काठमाडौँका प्रकाश बस्नेतलाई रु २० हजार प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले वाङ्मय क्षेत्रको विकासका लागि सम्मानले सहयोग गर्ने बताउनुभयो । प्रकृति र संस्कृतिसँग एकाकार गरी साहित्य सिर्जना गरेर राष्ट्रियतालाई अभिवृद्धि गर्न सकिने उहाँले उल्लेख गर्नुभयो । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले यसै साताभित्र महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवासलाई सङ्ग्रहालयका रूपमा स्थापित गर्ने अभियान सुरु हुने जानकारी दिनुभयो । कार्यक्रममा प्रतिष्ठानका उप कुलपति जगमान गुरुङ, सदस्य सचिव जगतप्रसाद उपाध्याय, सदस्य हेमनाथ पौडेललगायतले प्रतिष्ठानबाट प्रदान गरिने पुरस्कारका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया