राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि ‘इसेवा’लाई टिकट साझेदार बनाएको छ । सोअनुसार दर्शकले इसेवाबाट टिकट लिएरमात्र खेलहरु हेर्न पाउनेछन् । सागका भलिबल, फुटबल, क्रिकेट र बास्केटबलका लागि टिकट शुल्क निर्धारण गरिएको हो ।
इसेवाका सीइओ रोशन लामिछानेले टिकट अनलाइनबाटै लिनुपर्ने बताउँदै यसबाट सुरक्षा संवेदनशीलता र पारदर्शी हुने बताउनुभयो । टिकट बिक्रीको रकममध्ये १५ प्रतिशत इ–सेवाले पाउने र त्यसबाट ७ प्रतिशत रकम सेवा विशेषका लागि कुनै संस्थालाई राहत उपलब्ध गराउने जनाइएको छ ।
दशरथ रंगशालामा हुने फुटबलका लागि ‘राउन्ड रोबिन’का खेलको प्रतिटिकटको दर साधारण पारापिटतर्फ ५०० र भीआइपीतर्फ एक हजार रुपैयाँ निर्धारण गरिएको छ । फुटबल फाइनलमा भने साधारणतर्फ एक हजार र भीआइपीतर्फ दुई हजार रुपैयाँको टिकट शुल्क निर्धारण गरिने जनाइएको छ ।
भलिबल र बास्केटबलका लागि ५०० रुपैयाँको टिकट निर्धारण गरिएको छ । क्रिकेटमा नेपालको खेल भएको दिन ५०० र अरु खेलमा २०० रुपैयाँ प्रतिटिकट शुल्क तोकिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले दशरथ रंगशालामा १५ हजार ९०० सिट भएपनि १४ हजारमात्र टिकट बिक्री गरिने बताउनुभयो । उहाँले आयोजनाको सबै तयारी पूरा भएको र शुक्रबार साँझ उद्घाटनका लागि ‘ग्रान्ड रिहर्सल’ गर्ने कार्यक्रम रहेको बताउनुभयो । सिलवालले पौडी पोखरी निर्माणको काम शुक्रबार बिहानसम्म सकिएको र बिहान पानी राखेर शनिबार बिहानसम्म नेपाली खेलाडीहरुले अभ्यास गर्नसक्ने जानकारी दिनुभयो ।