अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४१ | Colorodo: 09:56

पद सम्हालेको चार दिन नबित्दै भारत महाराष्ट्रका मुख्यमन्त्रीद्धारा राजीनामा

बिआरटीनेपाल २०७६ मंसिर १० गते ४:१७ मा प्रकाशित

भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडनाविसले राजीनामा दिनुभएको छ । तीन दिनअघि मुख्यमन्त्रीको सपथ लिएका फडनाविसले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिनुभएको हो । यसअघि आजै भारतको सर्वोच्च अदालतले उहाँलाई बुधबारसम्म विधान सभामा बहुमत देखाउन आदेश दिएको थियो।

राजीनामा दिँदै फडनाविसले आफूहरूले कहिल्यै पनि शिवसेनालाई मुख्यमन्त्री दिने कुरा नभएको तर पछि चुनावी परिणाम आइसकेपछि बखेडा झिकेको बताउनुभयो । अक्टोबर २१ मा २८८ सिटका लागि भएको विधानसभा निर्वाचनमा भाजपाले १०५ सिट ल्याएको थियो। शिव सेनालाई मुख्यमन्त्री दिने वाचा गरेर गठबन्धन गरेको भाजपा चुनाव पछि भने मुख्यमन्त्री आफ्नै पार्टीको हुने बताएको थियो।

त्यसपछि भाजपा र शिव सेनाको गठबन्धन टुटेको थियो। भाजपाले सरकार बनाउन नसक्ने भएपछि हतारमा राज्यपाल भगतसिंह कोशीयारीले राष्ट्रपति शासनको सिफारिस गरेका थिए। नोभेम्बर १२मा प्रदेशमा राष्ट्रपति शासन लागू भएको थियो। त्यसपछि ५६ सिट भएको सेना,५४ सिट भएको राष्ट्रवादी कांग्रेस(एनसिपी) र ४४ सिट जितेको कंग्रेसले शुक्रबार साँझ सेनाका उद्धव ठाकरेको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेका थिए।

तर भाजपाले एनसिपीका संसदीय दलका नेता अजित पवारलाई हात लिएर रातारात सरकार बनाएको थियो। शनिबार मध्यरातपछि राज्यपाल कोशियारीले भाजपा र एनसिपीलाई सरकार बनाउन आमन्त्रण गर्दै गुपचुपमा आइतबार बिहान राष्ट्रपति शासन फिर्ता गर्न सिफारिस गरी एकाबिहानै फडनाविसलाई मुख्यमन्त्री र पवारलाई उपमुख्यमन्त्रीको शपथ गराउनुभएको थियो ।

विपक्षी दलहरुले यी सबै कुरा आइतबार बिहान शपथ ग्रहण गरेपछि मात्रै थाहा पाएका थिए। त्यसपछि एनसिपीका प्रमुख शरद पवारले भाजपासँग सरकार बनाउने निर्णय उनका भतिजा अजित पवारको व्यक्तिगत भएको बताउँदै अजितलाई संसदीय दलको नेताबाट निष्कासन गरेका थिए।

विधानसभामा आफ्नो स्पष्ट बहुमत भएको भन्दै सेना, एनसिपी र कंग्रेसले तुरून्तै फडनाविसलाई बहुमत सावित गर्न आदेश मागेर सर्वोच्च गएका थिए। सो निवेदनमा मंगलबार निर्णय गर्दै सर्वोच्चले फडनाविसलाई बुधबारसम्म बहुमत देखाउन आदेश दिएको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू