टेक्सस । गत शुक्रवार भएको सडक दुर्घटनामा मृत्यु हुने मानिस नेपाली भएको खुलेको छ । फ्रिस्को प्रहरीले उनको नाम रवि श्रेष्ठ भएको बुधवार सार्वजनिक गरेको छ । उनी हम्बल, टेक्ससमा बसोबास गर्दै आएका थिए ।
गत शुक्रवार राति करिब पौने ११ बजे प्रेस्टन रोड र एल्डोराडो पार्कवेमा गाडी दुर्घटना भएको थियो । फायर डिपार्टमेन्टका अधिकारीहरूले पल्टिएको गाडीमा थुनिएका रविलाई निकाली अस्पताल लगेका थिए । त्यति बेला उनका परिचय खुलेको थिएन ।
अस्पतालमा रविको मृत्यु भएको थियो । हम्बलमा बस्ने उनी ३० वर्षका थिए । गाडीमा अरू मानिस थिएन । गाडी रविले चलाएका थिए ।
फ्रिस्को प्रहरीले उक्त सडक दुर्घटनासम्बन्धी कसैसँग थप जानकारी भए ९७२२९२६०१० मा सम्पर्क गर्न अनुरोध गरेको छ । दुर्घटना सम्बन्धी जानकारी हुने तर अज्ञात बस्न चहानेहरुका लागि FRISCOPD टाइप गरी ८४७४११ (टिआइपि४११) मा म्यासेज गर्न अनुरोध गरेको छ । त्यस्तै फ्रिस्को प्रहरीले फ्रिस्को पिडि अ्याप डाउनलोड गरी सूचना दिन सकिने विकल्प पनि रहेको जनाएको छ ।