गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा लगानी गरी आर्थिक फाइदा लिन अमेरिकी लगानीकर्ताहरूलाई आग्रह गर्नु भएको छ। हाल अमेरिकाको भ्रमणमा रहनु भएका मुख्यमन्त्री गुरुङले अमेरिकाको वाशिङटन राज्यका गभर्नर जे इन्सुली सँगको दुई पक्षीय भेटका क्रममा सो आग्रह गर्नु भएको हो। दुई पक्षीय भेटमा मुख्यमन्त्री गुरुङले भौगोलिक रूपमा नेपाल विश्वका दुई ठुला अर्थतन्त्र चीन र भारतको बिचमा रहेकाले नेपालमा लगानी गरी प्रचुर आर्थिक फाइदा लिन आग्रह गर्नु भयो।
नेपालमा खास गरी पूर्वाधार निर्माण जलविद्युत, कृषि, स्वच्छ ऊर्जा, पर्यटन, जडीबुटी र वनस्पति जस्ता क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेकाले नेपाल भ्रमण गरी ती सम्भावनाहरूलाई लगानीमा परिणत गर्न मुख्यमन्त्री गुरुङले अनुरोध गर्नु भयो। प्रतिउत्तरमा वासिङ्टन राज्यका गभर्नर जे इन्सुलीले नेपाल भ्रमण गर्ने तीव्र इच्छा रहेको र नेपालका हिमालहरूको संरक्षणका लागी विभिन्न फोरमहरूमा आफूले कुरा उठाउने गरेको बताउनु भयो। सो अवसरमा वाशिङटन राज्यका लागि एसिया प्यासिफिक अमेरिकी मामिलाका कमिसनर मोहन गुरुङले नेपाल र अमेरिकाको वाशिङटन राज्य बिच व्यापार विस्तारको प्रशस्त सम्भावना रहेको बताउनु भयो। नेपाल र अमेरिकाको वाशिङटन राज्य बिच व्यापार विस्तारका लागि सन् २०२० सम्ममा संयुक्त व्यापार संरचना निर्माण गर्ने उद्देश्यका साथ काम भई रहेको उहाँले बताउनु भयो।