नारी केसी मेमोरिएलद्वारा प्रमाण पत्र वितरण
दुवै हात गुमाएकी विराटनगर निवासी मेघा घिमिरेको कृत्रिम हात अमेरिकामा जडान गरिएको छ । हाई टेन्सन (बिजुलीको तारमा अत्यधिक विद्युत् सञ्चालन शक्ति )को कारण दुई हात गुमाउनु परेकी मेघा घिमिरेको अन्ततोगत्वा अमेरिकाको राजधानी वासिङ्टन डिसीमा सफलतापूर्वक हात जोडिएको छ ।
नारायण रिना केसी मेमोरिएल फाउन्डेसन (नारी केसी स्मारक प्रतिष्ठान )द्वारा मेघा घिमिरेलाई सहयोग गर्ने दातृ संस्था,अस्पताल ,नारी प्रतिष्ठानका सदस्य ,प्राविधिक ,सङ्घ/संस्था,संचारकर्मी,समुदाय ,परिवार लगायतलाई एक समारोह बिच उच्च कदर गर्दै प्रशंसा पत्र सहित सम्मान गरिएको छ ।
कार्यक्रममा कृत्रिम नयाँ हात लगाएकी स्वयं मेघा घिमिरेले पनि प्रमाण पत्र वितरण गर्न सफल भएकी छिन् । मेघाले मन्तव्य राख्दै नारायण रिना केसी मेमोरिएल फाउन्डेसनकी संस्थापक तथा अध्यक्ष रिमा केसी(कटवाल )लाई भगवानको रूपमा देखेको बताइन । अमेरिका आउने परिकल्पना समेत नभएको अवस्थामा रिमा केसी(कटवाल )को विशेष पहलमा अमेरिका आएको र आफ्नो हात जोडिन सम्भव भएको बताइन ।
उनले अस्पताल आफ्नी आमा ,सहयोग गर्ने र विश्व ब्यापीरुपमा आफूलाई चिनाउने सञ्चार माध्यम लगायत दानवीरहरूलाई मुक्त कण्ठले प्रशंसा गरिन । अध्यक्ष रिमा केसीले विशेष गरी मेघाको हातको जडान गर्न सहयोग गर्ने वासिङ्टन डिसी स्थित प्रसिद्ध अस्पताल मेडस्टार तथा कृत्रिम हात निर्माण गर्ने ह्यांगर लगायत सहयोगी मन लाई कृतज्ञता ज्ञापन गरिन ।
केसीले आफ्नो प्रतिष्ठानले गरेका कुराहरूको समेत छोटोमा चर्चा गरिन । मेघालाई अमेरिका आउन प्रवेशाज्ञा अस्वीकार भए पछि प्रतिष्ठानका कार्यकारी उप सभापति तथा डिसी क्षेत्रका प्रमाणित जन लेखापाल (सिपिए)को पहलमा सिनेटर र डिसी स्थित विदेश विभागले समेत मेघालाई अमेरिका ल्याउन सहयोग गरेकोमा विशेष विशेष धन्यवाद दिइन ।
यसै गरी मेघाकि आमा जसले अनवरत रूपमा छोरी मेघाको लागि अहोरात्र खटिई सेवा गरी रहेकी छिन् उनले अमेरिका आउन हामी सक्ने थिएनौ । पैसाले पनि सकिँदैन थियो तर विश्वव्यापी रूपमा सबैको सहयोग रहेको छ । तर रिमा केसी(कटवाल)ले आफू र छोरीलाई अमेरिकामा आफ्नै घरमा राखी र छोरीको उद्धार गरी दिनु भएकोमा धन्यवाद दिइन ।
उक्त समारोहमा सन् १९५८ मा डिसीमा स्थापित मेडस्टार वासिङ्टन हस्पिटल सेन्टर तथा डिसी कै ह्यांगर फाउन्डेसन सँग नारायण रिना केसी मेमोरिएल फाउन्डेसनको स्मृति पत्रमा सम्झौता (एमओयु ) भएको छ ।
उक्त समारोहमा प्रतिष्ठानका कार्यकारी उप सभापति हरि शर्माले सम्मान समारोहको कार्यक्रम सञ्चालन गरेका थिए । समारोहमा डिसी क्षेत्रका विधान सभा सदस्य ,सभासद् ,सिनेटर ,स्थानीय स्तरका नगर क्षेत्रका निर्वाचित पदाधिकारी लगायत नेपाली समुदायलाई आमन्त्रित गरिएको थियो ।
समारोहमा अनुपस्थित रहेका सिनेटरका प्रतिनिधिले सन्देश दिनुको साथै मेघालाई हात जडान हुन् सकेकोमा बधाई दिएका थिए । समारोहमा पञ्च कन्याद्वारा अतिथिहरूलाई स्वागत गरिएको थिए भने नारी प्रतिष्ठानको बारेमा जानकारी गराइएको थियो ।
समारोहमा हर्नडनकि उपनगर प्रमुख शिला ओलेम, परिषद् सदस्य सिसार डेल अगुईला, सदस्य रचना सिज्मोर हेइजर, नेपाली मूलका हर्नडन सहरका नगर परिषद् सदस्य प्रदीप ढकाल लगायतले छोटो मन्तव्य राखेका थिए । यसै गरी सिनेटर जोन बेल, सिनेटर मार्क वार्नर लगायतका प्रतिनिधिले सन्देश पढेर सुनाएका थिए ।
समारोहका अन्त्यमा मेघा घिमिरेको खुसीको लागि भर्जिनियाका स्थानीय फ्युजन सङ्गीत मण्डली (ब्याण्ड)का आनन्दु लामाको बाँसुरीको धुनमा राजन अधिकारी तथा अर्जुन घिमिरेले साथ दिँदै बाँसुरीको धुन प्रस्तुत गरेका थिए ।