डिसी, नेपाली काँग्रेसका पूर्व महामन्त्री ,पूर्व उप-प्रधानमन्त्री एवं नेता प्रकाशमान सिंहसँग भर्जिनियाका नेपाली समुदायले भेटघाट गर्नुको साथै अन्तरक्रिया कार्यक्रम गरेका छन् । नेपाली जनसम्पर्क समिति भर्जिनिया शाखाद्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित सहभागीहरूले जिज्ञासा राख्नुको साथै सिंह मार्फत नेपाली काँग्रेसलाई परामर्श, राय, सल्लाह तथा सुझाव दिएका थिए ।
नेपाली जनसम्पर्क समिति भर्जिनिया शाखाका अध्यक्ष रामशरण हुमागाईको सभापतित्वमा उक्त भेटघाट कार्यक्रम सम्पन्न भएको थियो । उक्त अनौपचारिक भेटघाट कार्यक्रममा नेपाली जन सम्पर्क समिति अमेरिकामा उप सभापति केशव बराल, न्यूयोर्कबाट महासचिव मुनीन्द्र नेम्वाङ्ग, वरिष्ठ पत्रकार हरि अधिकारी, अमेरिका नेपाल सोसाइटीका अध्यक्ष प्रभा देउजा भट्टराई, डिसी क्षेत्रका विभिन्न सङ्घ/संस्थाका प्रतिनिधिहरूले आफ्ना महत्त्वपूर्ण कुराहरू पूर्व उप-प्रधानमन्त्री प्रकाशमान सिंह समक्ष राखेका थिए ।
कार्यक्रममा सभापति रामशरण हुमागाईले कार्यक्रम सञ्चालन साथै कार्यक्रमको बारेमा प्रकाश पारेका थिए नेपाली जनसम्पर्क समितिका उप सभापति केशव बरालले पनि स्वागत मन्तव्य राखेका थिए । सहभागीहरूले विशेष गरी वर्तमान सरकारको गतिविधि, नेपाली काँग्रेसको भूमिका र अवस्था र साथै महाकाली सीमा सम्बन्धी चासो दिएका थिए । कार्यकमको सुरुवात परिचयबाट भएको थियो ।
नेता प्रकाशमान सिंहले नेपालमा सबै भन्दा सस्तो समय तर अमेरिका सबै भन्दा महत्त्वपूर्ण भन्दै समय व्यवस्थापन गर्ने सबैलाई धन्यवाद दिएका थिए । दुई तिहाइ पाएको सरकार संविधानको मर्म अनुसार चल्न नसकेको सिंहले बताए । उनले संविधानलाई संस्थागत रूपमा अगाडी बढाउनु पर्नेमा सरकार यसलाई आलटाल गर्ने कुरामा अल्झेको बताए ।
सिंहले अगाडी भने संविधानले दिएको अधिकारलाई सरकारले कन्जुस्याइँ गरेको आरोप लगाए । सिंहले प्रधानमन्त्रीले शपथ लिन साथ आफूलाई शक्तिशाली बनाउन गृह मन्त्रालयको विभाग र अन्य विभाग आफू सँगै ल्याउन खोजेको बताए ।
नेपालको अर्थतन्त्र राम्रो अस्वस्थमा नभएको र हाल ओरालो लागेको दाबी गरे । उनले नेपाली काँग्रेसले संविधानलाई जारी गर्न सफल भएको स्मरण गराए । सिंहले ‘प्रधानमन्त्रीले आफू भ्रष्ट्राचार गर्दिन, भ्रष्ट्राचार गर्न पनि दिन्न भन्ने प्रतिबद्धता हामीले सुन्यौ । भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै सुन काण्ड, वाइडवडी जहाज काण्ड लगायतका भ्रष्ट्राचारमा मुसिएको आरोप लगाए ।
उनले अगाडी भने शान्ति सुरक्षा दिन सरकारले नसकेको र सुरक्षामा पनि सन्तोषजनक नरहेको दाबी गरे । महाकाली सीमा सम्बन्धी विवादमा सरकार गम्भीर हुन् नसकेको उनले बताए । उनले अगाडी भने सीमा सम्बन्धी विपक्ष र जनताले आवाज उठाए पछि मात्र कान ठाडो परेको भन्दै यस्ता कुरामा सरकार संवेदनशील हुनु पर्ने कुरामा जोड दिए । दुई तिहाइको सरकार रहेता पनि जिम्मेवारी निर्वाह गर्न नसकेको आरोप लगाए ।
सिंहले वर्तमान सरकार सँगै नेपाली काँग्रेसको पनि अधिवेशनको चर्चा गर्दै दलका सभापतिले बिधिसम्मत र नियम सम्मत चलाउनु पर्ने बताए । यदि यसो गरिएन भने ठुलो सङ्कट आई पर्ने बताए । उनले नेपाली काँग्रेसलाई सुधार्नु पर्ने ,प्रजातान्त्रिक पद्धति द्वारा नेतृत्व परिवर्तन समेत गर्नु पर्ने र जनताको चाहना समेत रहेको बताए ।
कार्यक्रम बिच गत महिनामा आयरल्यान्डमा सम्पन्न वर्ल्ड पावरलिफ्टिंग आइपिएल प्रतियोगितामा स्वर्ण पदक प्राप्त डिसी क्षेत्रका भारत्तोलक रूप कार्कीलाई खादा लगाई सम्मान गरेका थिए ।
नेपाली जनसम्पर्क समिति भर्जिनियाका सभापति रामशरण हुमागाईले सबैलाई धन्यवाद दिएका थिए ।
नेता सिंह वीर गणेशमान सिंह नामक चलचित्रको अमेरिकामा प्रदर्शनीका क्रममा न्यु योर्क आइपुगेको समयमा भर्जिनिया आई पुगेका हुन् । नेपाली लोकतान्त्रिक आन्दोलनका सर्वोच्च नेता आफ्ना पिता गणेशमान सिंहको जीवनीमा आधारित ‘वीर गणेशमान’ नामक चलचित्र अमेरिकाका विभिन्न सहरमा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । यसै गरी नेता सिंह सँगै अर्का नेता राजुराज जोशी पनि अमेरिका आएका छन् ।