अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१८ | Colorodo: 12:33

अमेरिकाको बोष्टनमा म्हः पूजा नेपाल सम्बत ११४० कार्यक्रम सम्पन्न

सुरेन्द्र नापित २०७६ कार्तिक २७ गते ११:४७ मा प्रकाशित

बोस्टन, नेवाः अर्गनाईजेशन अफ अमेरिका, न्यु ईङ्गलैण्ड च्याप्टर बोष्टनद्धारा अक्टोबर २९, २०१९ मङ्गलवारका दिन म्यासाच्युसेट्स राज्यको बर्लिङ्गटन सहरमा नेपाल सम्वत ११४० को उपलक्ष्यमा आयोजित म्हः पूजा कार्यक्रम धूमधामसँग सम्पन्न भयो । उक्त कार्यक्रममा म्यासाच्युसेट्स राज्यका विभिन्न ठाउँहरूबाट धेरै नेपालीहरू एकै ठाउँमा भेला भई म्हः पूजा र नेपाल सम्बत ११४० हर्षोल्लासपूर्ण मनाए । उक्त कार्यक्रममा एक आपसमा नेपाल सम्बत ११४० को शुभकामना आदानप्रदान गरिएको थियो।

कार्यक्रम सुरु गर्नु अगाडि संस्थाका अध्यक्ष राजुमान श्रेष्ठले पानसमा बत्ती बाली विभिन्न देवी देवताको पूजा गरी सहभागी सबैलाई स्वागत र धन्यवाद व्यक्त गर्नुका साथै नेपाल सम्बत ११४० को उपलक्ष्यमा शुभकामना दिनु भएको थियो। त्यसपछि महिलाहरूको समूहले मन्दको पूजा गर्नुको साथै टिका लगाई दिएर सगुन प्रसाद दिने काम गरेका थिए। उक्त दिन नेवाः समुदायका मानिसले आफ्नो आत्मा पूजा गरी म्हः पूजा मनाउने परम्परा छ । संस्थाका सचिव बुद्ध रत्न महर्जनले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। यस कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्नको लागि संस्थाका अध्यक्ष राजुमान श्रेष्ठ, उपाध्यक्ष खिल नारायण श्रेष्ठ, सचिव बुद्ध रत्न महर्जन, कोषाध्यक्ष डा. नीराजन मणि, सदस्यहरू क्रमशः रूप शाक्य, सुरेन्द्र नापित, रवि राजकर्णिकार, रविन बज्राचार्य र तिनीहरूका परिवार तथा साथीहरूले सहयोग गरेका थिए ।

संस्थाबाट खोलिएको भाग्यशाली उपहार पुरस्कारहरू प्रथम देखि सातौँसम्म क्रमशः सुशान्त श्रेष्ठ, लोना श्रेष्ठ, ओमिका नापित, विशेष श्रेष्ठ, ब्रशेश महर्जन, निर्भीक र आलेकाले जितेका थिए। त्यसै गरी नम्रता राजकर्णिकार, अल्बिना नापित र अल्बिन नापितबाट संयुक्त रूपमा खेलाइएको बिङ्गो खेलमा ओमिका नापित र विशेष श्रेष्ठले फुल हाउस पुरस्कार जितेका थिए। वहाँहरूलाई दामासाहीले पुरस्कार वितरण गरिएको थियो।

यसै गरी छोटो मनोरञ्जन कार्यक्रममा संगीतारा राजकर्णिकार र सुरेन्द्र नापितले क्रमशः नेवारी र नेपाली गीत गाउनु भएको थियो । यो च्याप्टरले हरेक वर्ष म्हः पुजाका साथै विभिन्न चाडपर्व र कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । आफ्नो भाषा संस्कृति र परम्परालाई विदेशमा रहेर पनि नयाँ पुस्तालाई सिकाउने उद्देश्यले कार्यक्रमको आयोजन गरिएको नेवाः अर्गनाईजेशन अफ अमेरिका, न्युईङ्गलैण्ड च्याप्टर, बोस्टनका पदाधिकारीहरूले बताए। कार्यक्रमको अन्त्यमा रात्रि भोजको आयोजना गरिएको थियो ।

फोटोः सुरेन्द्र नापित

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू