काठमाडौँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३० वटा वायुसेवाले १८ मुलुकमा नियमित उडान गर्छन्। यस्तै आन्तरिकतर्फ चालु ३५ वटा विमानस्थलमध्ये १० वटामा नियमित उडान हुन्छ। १० वटा वायुसेवा कम्पनीले आन्तरिक उडान अनुमति पाएका छन्।
दैनिक अन्तर्राष्ट्रिय उडान ९० वटासम्म हुन्छ भने आन्तरिक उडान औसतमा तीन सय वटासम्म पुग्छ। यति व्यस्त विमानस्थलमा थोरै समस्या उत्पन्न हुने बित्तिकै उडान डिले हुन्छ। त्यसको प्रत्यक्ष मार यात्रुले सहँदै आएका छन्।
भदौ २७ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई नेपालगन्जबाट काठमाडौँ आउने क्रममा जहाज ढिला उड्यो। ढिलाइ उनकै कारण भएको थियो। उनलाई यात्रुले गालीगलौज गरेको र मन्त्रीमाथि परेको दबाबका कारण सम्बन्धित वायुसेवाले २४ मिनेट ढिलो भएको जानकारी दियो।
असोज २७ गते राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साहले उडान ढिलो भएको आक्रोशमा जनकपुर विमानस्थल स्थित बुद्ध एयरको चेक इन काउन्टर तोडफोड गरे। उनी काठमाडौँ आउन लागेका थिए।
कैलालीका शरद ओझा असोज १६ गते नेपालगन्जबाट यती एयरलाइन्सको जहाजमार्फत काठमाडौँ आउँदा ६ घण्टा ढिलो भयो। दुई बजेको टिकट लिएका ओझाले बेलुकी ८ बजे जहाजमा उड्न पाए।
चैत १९ गते वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान चार मिनेट ढिलो हुँदा उडान रद्द भयो। कर्मचारीले समयमै तयारी नगरेको र यात्रुलाई रातभर जहाजमै राखेको विषयमा सरकारी समितिले छानबिन गरी घटनामा संलग्न कर्मचारीलाई कारबाही सिफारिस गर्यो।
कहिले धावनमार्ग मर्मत, कहिले प्राविधिक कारण त कहिले उडान व्यवस्थापन मिलाउने बहानामा दैनिक उडान ढिलो हुने गरेका छन्। पछिल्लो समय आन्तरिक वायुसेवाका उडान तोकिएभन्दा ढिलो हुने गरेको गुनासो यात्रुको छ। बिहान आधा घण्टा मात्रै ढिलो भयो भने त्यसको असर दिनैभर पर्छ।
भिभिआइपीको उडान, मौसम गडबड, विमानस्थलमा एउटै मात्र धावनमार्ग हुँदा उडान व्यवस्थापन मिलाउन एयर ट्राफिक कार्यालयलाई कठिन हुन्छ। उडान बढी हुँदा होल्ड गरिरहनुपर्ने र पार्किङ स्थल कम हुँदा पर्खनुपर्ने कारण पनि उडान ढिलो हुने त्रिभुवन विमानस्थल कार्यालयको भनाइ छ। अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ ।