काठमाडौँ, नेपाली चलचित्रका नायक सुनिल दत्त पाण्डे अध्यक्ष रहेको सहकारीले ९० जनाभन्दा धेरैको पैसा खाएर बिचल्ली बनाएको छ । काठमाडौँमा रहेको पाण्डेको सहकारीले पैसा डुबाइदिएपछि पीडितहरूले मुद्धामामिला गरेका छन् । अध्यक्ष पाण्डेलाई पक्राउ गर्न ३५ दिने पक्राउ पुर्जी पनि जारी भएको छ । तर, पाण्डे लुकेर बसेका छन् ।
०७१ सालमा नै पाण्डेको सहकारी डुबेको पीडितहरूले बताएका छन् । पाण्डे अध्यक्ष रहेको सहकारीका सदस्यहरूमा प्रमोद प्रसाद मानन्धर, रमेश मानन्धर, राजीव लामा, रामकुमार पाण्डे र शैलेन्द्र दत्त पाण्डे रहेका छन् । शैलेन्द्र पाण्डेको निधन भइसकेको छ ।
अध्यक्ष पाण्डेसहित सबै जना विरुद्ध ०७४ माघ १ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलेको थियो । प्रहरीले त्यस बेला सहकारीका चार जना सदस्यहरूलाई पक्राउ गरेको थियो । अध्यक्ष पाण्डे फरार रहेकाले पक्राउ परेका छैनन् ।
पक्राउ परेका सबैलाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो । तर, उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतको धरौटीको आदेशलाई बदर गरी पुर्पक्षमा राखेर अनुसन्धान अगाडि बढाउन आदेश दिएको थियो ।
जिल्ला अदालत काठमाडौँले सहकारीका अध्यक्ष पाण्डेका नाममा २०७६ भदौ १५ गते ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । दैनिक नेपालबाट