चितवनको रामपुरमा बनाउने प्रस्तावित गौतमबुद्ध अन्तर्राष्ट्रिय बहुउद्देश्यीय क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । भरतपुर महानगरपालिका कार्यालयमा बुधबार उक्त डिपिआर प्रस्तुत गरेर सुझाव लिने काम भएको छ । केही परिमार्जन भए पनि डिपिआर निर्माण कार्य सकिएको रंगशाला निर्माणकर्ता धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष कलाकार सिताराम कट्टेल धुर्मुसले जानकारी दिनुभयो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको रामपुरको २२ विघा १७ कट्ठा जमिनमा रंगशाला बनाईनेछ । विश्वविद्यालयलाई सट्टाभर्ना दिने गरेर भरतपुर महानगरले उक्त जग्गा प्राप्त गरेको हो । धुर्मुस सुन्तली फाउण्डेशनले जनस्तरमा सहयोग अभियान सञ्चालन गरेर रंगशाला निर्माण गर्ने छन् । रंगशाला भरतपुर महानगरपालिकालाई हस्तान्तरण हुने छ ।
रंगशाला निर्माणका सम्बन्धमा फाउण्डेशन र भरतपुर महानगरपालिकाबीच गएको माघ १६ गते सहमतिपत्रमा हस्ताक्षर भएको थियो । त्यो बेला ६ महिनाभित्र डिपिआर बनाउने र दुई बर्षभित्र निर्माण पुरा गर्ने घोषणा भएको थियो । तर सहमतिपत्रमा हस्ताक्षर भएको ९ महिना २० दिनपछि डिपिआर सार्वजनिक गरिएको छ । डिपिआर अनुसार ३० हजार दर्शक अटाउने क्षमताको रंगशाला निर्माणका लागि भ्याट बाहेक दुई अर्ब ६० करोड रुपैयाँ खर्च हुने अनुमान छ ।