खरिदका लागि कडा जॉचबुझ, अध्ययन र व्यापक सहमतिको खोजी
वासिङ्टन डिसी, नेपाली सामुदायिक केन्द्र- न्याकको जमिन खरिद प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको बुझिएको छ। केही महिना अघि उत्साहजनकरुपमा चन्दा सङ्कलन गरेर जन समुदायको विश्वास जित्न सकेको न्याकलाई चाँडो भन्दा चाँडो जमिन खरिद गर्न वा बनेकै भवन खरिद गरी सामुदायिक भवन निर्माण सुरु गर्न चन्दा दाताहरूले सुझाव र दबाब दिँदै आएका छन्।
जमिन खरिद प्रक्रियालाई व्यवस्थित गर्दै थप गति दिन न्याक पइन्ट अफ कन्ट्याक्टहरू (सम्पर्क बिन्दुहरू) मा इन्जिनियरहरू र रियल्टर प्रतिनिधिहरू समेतको समूहले केही हप्तादेखि हरेक बिहीबार बैठक गर्दै आएको बुझिएको छ। गत बिहीबार सबै पक्षको सहभागितामा बसेको बैठकमा न्याक पइन्ट अफ कन्ट्याक्ट (सम्पर्क व्यक्ति) डा. मदन उप्रेती ,इन्जिनियर पइन्ट अफ कन्ट्याक्ट ठाकुर ढकाल लगायत राम प्रधान, राम मिश्र, मधु पन्थी, दुर्गा खरेल, दिनबंधु गुप्ता, मोहन बस्ताकोटी, प्रेम पौडेल, मोहन उप्रेतीको सहभागिता रहेको थियो।
सो बैठकको समन्वय गराउने मध्येका एक डा.मदन उप्रेतीसँग हामीले जमिन खरिद प्रक्रियामा भइरहेको प्रयास, प्रगति, खरिदको प्रक्रिया र सदस्यहरूले विश्वस्त हुन सक्ने आधार के छन् त भनी केही जिज्ञासा राखेका थियौँ ।
उहाँका अनुसार हालसम्म फेयर फ्याक्स, लाउडन र प्रिन्स विलियम काउन्टीमा विभिन्न जमिन, भवन र चर्चहरू समेत गरेर जम्मा ३५ भन्दा बढी ठाउँहरूको विस्तृत अध्ययन गरी ३-४ वटा साइटलाई चाहिँ थप अध्ययन गर्न योग्य भएको निधो निकालिएको छ ।
जमिन खरिदको लागि अध्ययन गर्दा न्याकका सदस्यहरूलाई भौगोलिक रूपले केन्द्र पर्ने स्थान, ढल निकासको कनेक्टिभिटी(सम्बन्ध) भएको, सडकको पहुँच भएको वा सडक एक्सेस(प्रवेश मार्ग)रोड (सडक )कम खर्चमा निर्माण गर्न सकिने ठाउँ , करिब ४ देखि १० एकडसम्म क्षेत्रफल भएको, न्याकको आवश्यकता अनुसार निर्माण गर्नको लागि सकेसम्म जोनिंग पास(पारित) भैसकेको,पार्किङ क्षमता धेरै भएको, कुल जग्गा लागत न्याकको वर्तमान बजेट अनुसार आठ लाख देखि १२ लाख सम्म भाउ भएको जस्ता मुख्य दायराहरूलाई ध्यान दिइएको जानकारी उहॉले दिनु भयो।
जग्गा अध्ययन प्रक्रियालाई भरपर्दो बनाउन विविध विधिहरू प्रयोग गरिएको उहॉको दाबी छ । जसमा साइट (स्थलगत )भ्रमण, काउन्टीमा रहेको नक्साको समीक्षा, एक्टिभ लिष्टिंग (क्रियाशील सूची )भएको, स्थानीय समाजको अवरोध नभएको, काउन्टीको अनलाइन प्रोफाइल(रेखा-चित्र)मा राम्रो सूचीमा परेको, सीमा, भूमि स्वामित्व, खरिद इतिहास, क्षेत्रफल मिल्दो भएको, बहु उद्देश्य विकास गर्न सकिने सम्भावना र वर्तमान उपयोगिता भएको जस्ता कुराहरूलाई राम्ररी ध्यान दिइएको कुरा हाम्रो जिज्ञासाको उत्तरमा न्याक पइन्ट अफ कन्ट्याक्ट (सम्पर्क व्यक्ति )डा मदन उप्रेतीले बताउनु भयो ।
जग्गा खरिदको सम्बन्धमा उहॉले अगाडि भन्नु भयो- हाम्रो उद्देश्य भनेको बहुउद्देश्यीय सामुदायिक केन्द्रको निर्माण हो जहॉ क्याम्पसकै रूपमा विविध कार्य गर्न योग्य बैठक कोठाहरू, पूजा स्थल र अतिरिक्त क्रियाकलापको स्थान समेत रहने र ती सबै सम्भावना भएको स्थान हामीलाई चाहिएको हो । हतारमा हामी जथाभाबी किन्ने काम भने गर्दैनौँ ।
अहिले फेयर फ्याक्स काउन्टीका सम्भावित ३ जग्गाहरूको गहिरो अनुसन्धान भइरहेको र केही बनी सकेका भवनको पनि सम्भाव्यता हेर्ने काम पनि भइरहेको थाहा भएको छ ।
अव छनौट भएका जमिनलाई के कसरी खरिद गर्नुहुन्छ, सदस्यहरूलाई कसरी विश्वस्त पार्नु हुन्छ त भन्ने प्रश्नमा उहॉको जवाफ थियो- हामी काउन्टीका आधिकारिक व्यक्ति समक्ष दुई हप्ता भित्र आमने सामने भेट्नेछौँ, यी तीन सम्भावित जमिनको बारेमा गहिराईमा बुझ्नेछौँ र ती प्रोपर्टी(सम्पत्ति)ले वहुउद्देश्य लक्ष्य परिपूर्ति गर्न मिल्ने नमिल्ने पक्का गर्नेछौँ ।
त्यसपछिको प्रक्रियाबारे प्रस्ट पार्दै उहॉले भन्नु भयो- यसपछि रियल्टर टिम(घर खरिद बिक्री टोली )ले रणनीतिक योजना बनाउँदछ, ब्रोकर वा मालिकलाई सम्पर्क गर्दछ, बजार मूल्यको मूल्याङ्कन गर्दछ र बिक्रेताको बटम लाइन(आधार रेखा ) मूल्य पत्ता लगाउँछ । त्यसपछि जग्गा खरिदको निर्णय गर्न कार्य समिति, ट्रस्टी कमिटीको संयुक्त बैठकबाट बहुमतले पास गर्रेपछि सबै सदस्यहरूको पनि सहभागितामा निर्णय गरिनेछ। हामीले दीर्घकालीन निर्णय गर्न लागेको हुँदा हामी सङ्कुचित हुनुहुँदैन,टाउन हल(सहर बैठक )बाट विधान अनुसार सदस्यहरूसँग बैठक गरेर विधान अनुसार अनुमोदन गराइनेछ । साथै हामी कम्तीमा पनि खरिदको निर्णय गर्नु अघि सबै सदस्यहरूलाई विभिन्न विकल्पहरू पनि प्रस्तुत गर्ने छौँ । एउटा प्रोपर्टी(जग्गा /सम्पत्ति) देखाएर यसैमा भोट (मतदान )गर्नोस् भन्दैनौ ।
यसै गतिमा खरिद प्रक्रिया अघि बढेमा एकातिर भरपर्दो निर्णय हुने छ भने अर्कोतिर छिटै नै न्याक सदस्यहरूले खुसीको सन्देश पाउने अनुमान गर्न सकिन्छ ।