हिन्दुहरूको महान् पर्व बडादसैँ र तिहारको पुनीत अवसरमा अमेरिकाको एटलान्टा स्थित नेपाली र नेपाली भाषी समुदायद्वारा “दसैँ-तिहार धमाका २०१९” नामक सांस्कृतिक कार्यक्रम आयोजना गरियो । यही शनिवार अक्टोबर १२ का दिन एटलान्टा स्थित कलर्क्सटनको बिर्यानी पोइन्ट रेस्टुरॉको हलमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपालबाट आउनुभएका वरिष्ठ गीतकार बुद्धवीर लामा र चर्चित गायिका सत्यकला राईलाई सम्मान समेत गरियो ।
नेपाली विविध संस्कृति झल्किने उक्त बृहत् सांस्कृतिक कार्यक्रम नेपालका लागि पर्यटनदुत राजा घलेको स्वागत मन्तव्यबाट शुभारम्भ गरिएको थियो । कार्यक्रमको पहिलो चरणमा स्थानीय कलाकारहरूले विभिन्न गीत र नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिएका थिए ।
स्थानीय कलाकारहरूको मनोरञ्जनात्मक प्रस्तुतिपछि अतिथि श्रष्टाद्वय वरिष्ठ गीतकार बुद्धवीर लामा तथा लोकप्रिय गायिका एवं प्राज्ञ सत्यकला राईलाई सम्मान गरियो । यस अवसरमा गीतकार लामालाई पर्यटन दूत राजा घले र गायिका राईलाई गुरुङ सोसाइटी अफ जोर्जियाका प्रथम अध्यक्ष अगम गुरुङ र वर्तमान अध्यक्ष मनोज गुरुङले सम्मान गरेका थिए ।
कार्यक्रमको दोस्रो चरणमा गीतकार बुद्धवीर लामाले आफ्नो रचनाहरू केही रोचक प्रसङ्ग सहित वाचन गरेर सुनाएर दर्शकहरूलाई मनोरञ्जन दिलाए । त्यसपछि नर्थ क्यारोलाइना निवासी, नासाका वर्तमान कार्यकारी सदस्य, लभ एन्ड सपोर्ट संस्थापक, लोकप्रिय गायक मनोज राईले आफ्नो नवीनतम एल्बमको केही गीत गाएर सुनाए ।
दर्शकहरूको लामो प्रति़क्षालाई चिर्दै कार्यक्रमको अन्तमा वर्तमान पुस्ताकी चर्चित एवं लोकप्रिय गायिका सत्यकला राईले आफ्ना चर्चित गीतहरू गाएर सबै दर्शक तथा श्रोताहरूको मन मुग्ध पारिन् । उनका गीतमा स्वरमा स्वर मिलाएर गीत गाउँदै छमछमी नाचेर सबै दर्शकहरूले अत्यधिक मनोरञ्जन लिएका थिए । कार्यक्रमको सञ्चालन ख्याति प्राप्त टिभी प्रस्तोता सङ्गम बानियाले गरेका थिए ।