मेरा एक जना सेलिब्रेटी मित्र गायक छन् । ऊनीसँग एकताका मेरो बाक्लै भेटघाट हुन्थ्यो । कहिले ऊनको घरमा। कहिले पार्टी र कहिले अन्य कार्यक्रमहरूमा । भेटघाटमा हामी कहिले सङ्गीत, कहिले साहित्य, कहिले राजनीति, र कहिले हासपरिहासका प्रसङ्गहरू जोड्थ्यौ । यसरी प्रसङ्गहरू जोड्दा प्राय अरूलाई उडाएर मस्तसँग हास्तथ्यौ । हामीले भेट्ने विभिन्न पार्टी र कार्यक्रममा प्राय हामीहरू नाई भन्न नसकेर नै गएका हुन्थ्यौ । यसै मेसोमा ऊनले एक दिन मलाई एउटा घटना सुनाए । अनि हामी दुवै जना मस्तसँग हाँस्यौ । यो घटनामा कत्तिको सत्यता छ मलाई थाहा छैन । किनकि हामीहरूको बानी केछ भने भएका कुरालाई अझ बढी मनोरञ्जनात्मक बनाउन पर्यो भने मर मसला थपी हाल्छौ ।
मित्रको भनाई अनुसार ऊन्को गाउँमा राम्रो गाउने कला भएकी एक जना युवती रहिछन् । मिठो स्वरका साथै उन्मा सुन्दरता पनि अब्बल दर्जाको रहेछ । मित्रले ती युवतीलाई काठमाडौँमा लगेर उन्को गलाको कला देखाउने मौका जुराई दिने सोच बनाएछन् । अनि युवतीका अबिभावकहरुसंग सहमति लिएर मित्रले युवतीलाई काठमाडौँ ल्याएछन् । र आफ्नो कलाको सिप देखाउने ठाउँमा कामको व्यवस्था पनि मिलाई दिएछन् । केही समय पछि मित्रलाई उन्का अरू साथीहरूले युवतीको चरित्रको बारेमा कुरा सुनाउन थालेछन् । सुरुमा मित्रले सोचेछन्, गाउँबाट आएकी युवतीले कुनै केटासँग उठबस गर्दा के को आपत्ति र । एक्ली छ । कुनै केटासँग घरजम गरेर बसी भने आफूलाई पनि ढुक्क । केटीका अविभाबकले पनि चिन्ता लिनु पर्दैन । आदि । त्यसैले मित्रले केही प्रतिक्रिया जनाएनछ ।
मित्रले फेरी कुरा थप्दै गए । ऊनलाई अब त साथीहरूले ती युवती धेरै केटासँग सम्बन्ध राख्ने र हिडने गरेको कुरा सुनाउन थालेछन् । अनि मित्रलाई रिस उठेछ । आफ्नी गाउँकी चेली । यसरी धेरै केटाहरूसँग सम्बन्ध राख्दै हिँडेको सुन्दा ऊनलाई नै लाज लाग्न थालेछ । र मित्रले एक दिन बोलाएर ती केटीलाई भनेछन् । त फटाई । जोसँग पनि यसरी सम्बन्ध राख्दै हिडन लाज लाग्दैन । सम्बन्धै राख्ने र हिडने भए एउटासँग राख्नु । घरजम गर्नु । यो तैँले कस्तो गाईजात्रा देखाएकी ? कहिले कोसँग ? कहिले कोसँग ? सुन्दा सुन्दा मलाई नै लाज लागी सक्यौ । मित्रले गाली गरेपछि, युवतीले रुदै भनिछन् । मरिजाऊ काजी मैले नाई भन्न नसकेर मात्रै त्यसो गरेकी हु । काजी, म त्यस्ती मान्छे कहाँ हुर ? अनि ती युवतीको भनाई सम्झेर हामी मस्तले हाँस्यौ । मानौँ हामीले नाई भन्न नसकेर गरेका व्यवहारको पात्र पनि ती युवती नै हुन ।
मित्र र मेरो कार्यक्रम र पार्टीहरूमा भेट हुँदा हामी त्यही युवतीको घटना स्मरण गर्दथे । कहिले मित्रले र कहिले मैले भन्थे “नाई भन्न नसकेर…”। अनि हामी हाँस्न थाल्दथ्यौ । अरू साथीहरू हाम्रो नाई भन्न नसकेर… वाक्य पछि निस्किएको हाँसो देखेर छक्क पर्दथे । किनकि यो वाक्यले नै यसरी हाँस्नुपर्ने प्रसङ्ग कसरी आयो ऊनीहरूलाई थाहा हुँदैनथ्यो ।
मैले पनि धेरै पटक मित्रले सुनाएको यो प्रसङ्ग अरूलाई सुनाएर मनारन्जन गराएको छु । मैले ज जसलाई यो प्रसङ्ग सुनाए उनीहरूसँग अहिले पनि नाई भन्न नसकेर.. वाक्य निकाल्दा खेरी ती युवतीसँग जोडिएको एउटा घटनाको शृङ्खला याद आउँछ । यो प्रसङ्ग मैले मित्रबाट सुनेको पनि दशौँ वर्ष भई सक्यो । म सधैभरी ती युवतीको चरित्रको कम जोडीको बारेमा सोचेर हाँस्दथे । अनि मनमनै मान्थे कस्ती गवार केटी रहिछ । कहीँ नाई भन्न नसकेर यसरी धेरै केटासँग सम्बन्ध राखिन्छ र ? । यदि आफूले सम्बन्ध राख्ने इच्छा छैन भने अरूले जबरजस्ती गरेर हुने कुरा होर ? यो त एउटा बहाना मात्रै हो आफ्नो दोष लुकाउने ।
आजकाल भने म आफै हाँस्नु न रुनुको अवस्थामा छु । म गवारमा गनिन्न । ठुला डिग्रीहरू लिएर वकिल भएको हुँदा विद्धानको उपाधि समाज र न्यायालायले दिएको छ । संसारको राजधानी मानिने न्युर्योक सहरमा बसोबास छ । अनि यहाँ बस्ने धेरै जना आफू जस्तै साथीहरूसँगको उठबस छ । पार्टी र विविध कार्यक्रमहरूमा प्राय यिनै साथीहरूसँग भेट भई रहन्छ । जानु भन्दा अगाडी वा कार्यक्रममा पुगेपछि कुराकानी हुन्छ । साथीहरू भन्छन्, नाई भन्न नसकेर मात्रै आएको । एक छिन बसेर गै हाल्छु…। यसरी नाई भन्न नसकेर गएको । नाई भन्न नसकेर दिएको । नाई भन्न नसकेर खेलेको । नाई भन्न नसकेर खाएको । अनि नाई भन्न नसकेर गरेका अनगिन्ती कर्महरू छन् । म र म जस्ता साथीहरूले गरेका यी कर्महरू ती गवार केटीले नाई भन्न नसकेर धेरै केटाहरूसँग राखेको सम्बन्ध वा कर्ममा त्यति फरक परेको जस्तो मलाई लाग्दैन । र म र मजस्ता अगवार, विद्धान, र सहरिया संस्कारीहरुले नाई भन्न नसकेर गरेका कर्महरू भने पानी माथिको ओभानो भएका छन् । अनि बदनाम हुने चाहिँ ती बिचरी गवार युवती भइन ।