अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३९ | Colorodo: 23:54

वासिङ्टन डिसीमा वसन्त चौधरीको विश्व काव्य यात्रा र दश वटा कृतिको विमोचन

बिआरटीनेपाल २०७६ भदौ ३१ गते ९:४३ मा प्रकाशित

उद्योगपति तथा कवि वसन्त चौधरीले विश्व–काव्ययात्राको दोस्रो चरणको कार्यक्रम अन्तर्गत आइतबार साँझ अमेरिकाको भर्जिनियामा एकल कवितावाचन गर्नुभएको छ । कविता वाचनको माध्यमबाट प्रवासमा बस्ने नेपालीलाई नेपाली भाषा, साहित्य र संस्कृतिप्रति अभिरुचि जगाउने उद्देश्यबाट प्रेरित विश्व काव्ययात्राको अर्को कार्यक्रम भर्जिनियामा प्रस्तुत भएको थियो ।

भर्जिनियामा पनि कवि चौधरीले माया–प्रेम, राजनीतिक विसंगति, समाज, आध्यात्मलगायतका विषयहरूलाई समेटेर करिब दुई दर्जन कविता तथा केही गजलहरू सुनाउनुभएको थियो । भर्जिनियास्थित अन्तर्राष्ट्रिय कलाकार–मञ्चद्वारा आयोजित कार्यक्रममा चौधरीका नौ भाषामा प्रकाशित काव्यकृति ‘वसन्त’ र हिन्दी भाषामा प्रकाशित कवितासंग्रह ‘चाहतों के साये में’ को ११ जना अग्रज व्यक्तित्वहरूद्वारा संयुक्तरूपमा लोकार्पण गरिएको थियो ।

सुरुमा ४५ मिनेटको काव्य वाचन तय गरिए पनि वासिङ्टन बासीको फर्माइसमा वहाँले करिब डबल समय लिनुभयो । अचम्म त के भयो भने चौधरीको काव्य वाचन सुरु भए पछि दर्शक श्रोता दीर्घा वाहवाही, ताली र साथ दिन तल्लीन देखियो भने कार्यक्रम अन्त्य भए पछि पनि चौधरी सँगै झुम्मिई रह्यो । अमेरिकावासी नेपालीहरूका बिच चौधरी सुपर स्टार सेलिब्रेटी जस्तै भएर बिदा हुनुभयो । बिदा हुनु अघि आधा घण्टा फोटो सेसनमा तानातानमा परेका चौधरीसँग रात्रीभोज अवधि भर पनि दर्शक श्रोता झुम्मिई रहे ।

आयोजक अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र इभेन्ट म्यानेजमेन्ट गरेको इन्टरनेशनल मिडिया एण्ड इन्टरटेन्मेन्ट हाउस, अमेरिकाका अध्यक्ष, लोक तथा लोहोरी गायक रामप्रसाद खनालले कार्यक्रमको सुरुमै वसन्त चौधरीको विश्व काव्य यात्रा आयोजना बारेमा प्रस्ट पार्दै चौधरी सहित सबै अतिथि दर्शक र श्रोताहरूलाई स्वागत गर्नुभएको थियो ।

सोही समारोहमा कवि बसन्त चौधरीलाई आयोजक संस्था अन्तर्रा्ष्ट्रिय कलाकार–मञ्चले अभिनन्दन गरेको छ । अभिनन्दन पत्र प्रकाश नेपालले पढेर सुनाउनुभयो भने विशेष अतिथि चौधरीलाई अध्यक्ष खनालले अभिनन्दन पत्र हस्तान्तरण गर्दै अभिनन्दन गर्नुभयो । विश्व काव्य यात्राका तर्फबाट विशेष अतिथि वसन्त चौधरीले कार्यक्रम आयोजक अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र इभेन्ट म्यानेजमेन्ट गरेको इन्टरनेशनल मिडिया एण्ड इन्टरटेन्मेन्ट हाउस, अमेरिकाका अध्यक्ष रामप्रसाद खनाललाई आभार सहित उपहार प्रदान गर्नुभयो ।

आयोजकका तर्फबाट रामप्रसाद खनालले भन्नुभएको छ: “अग्रज कवि, साहित्यकार एवम् गीतकार वसन्त चौधरीको काव्य वाचनको हामीलाई प्राप्त अवसर प्रति म नतमस्तक छु र दाइ प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । वसन्त दाइ जस्ता यस्ता बहुमुखी प्रतिभाका धनी, उदाहरणीय व्यक्तित्वलाई अमेरिकामा अभिनन्दन गर्न पाउँदा हामी अमेरिकावासी नेपालीहरू ज्यादै हर्षित छौँ । भव्य र सभ्य कार्यक्रममा उपस्थित भएर कार्यक्रम पूर्ण रूपमा सफल पार्न सहयोग गर्नुहुने वासिङ्टन डिसी मेट्रो एरियाका उपस्थित सबै दर्शक श्रोता, विभिन्न सङ्घ संस्थाका अध्यक्षहरू, साहित्य, कला, गीत सङ्गीत, संस्कृतिप्रेमी महानुभावहरू, महानुभावहरू, अतिथिहरू सबै प्रति पनि म आयोजकका हैसियतले हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

 

 

 

प्रतिक्रिया