अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०८ | Colorodo: 04:23

मन्त्रीका कारण मात्रै उडान ढिला भएको थिएन – बुद्ध एअर

बिआरटीनेपाल २०७६ भदौ ३० गते ८:२४ मा प्रकाशित

बुद्ध एअरले शनिबार नेपालगञ्जबाट काठमाण्डौ उडानमा ढिलाइ भएको बारे स्पष्टीकरण दिएको छ । काठमाण्डौबाट उडान ढिला हुँदा नेपालगञ्ज पुगेर फर्कन ढिलाइ भएको बुद्ध एअरले स्पष्ट पारेको छ । शनिबार नेपालगञ्ज विमानस्थलबाट फर्कने क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका कारण उडान एक घण्टा ढिलाइ भएको भन्दै केही यात्रुहरुले मन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।

बुद्ध एअरले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रीका कारण मात्रै उडान ढिला नभएको स्पष्ट पारेको हो । उडान ढिला हुनुमा काठमाण्डौबाटै उडान ढिला हुनु, मन्त्रीले केही बेर पर्खाउनु र केही यात्रुले नाराबाजी गर्दा झण्डै २४ मिनेट उडान ढिला भएको उसले स्पष्ट पारेको हो । काठमाण्डौबाट ४ः५० मा उड्नु पर्ने विमान २३ मिनेट ढिलो गरेर ५ः१३ मा उडेको र नेपालगञ्जमा ६ः२ मा अवतरण भएको उसले जनाएको छ । मन्त्रीका सहयोगीले ६ः२५ मा नेपालगञ्ज विमानस्थलका प्रमुखमार्फत फोन गरेर आफूहरु धम्बोजी आइपुगेको र केही समयमा नै एअरपोर्टमा आउने भन्ने जानकारी गराएको भए पनि उहाँहरु केही ढिला एयरपोर्ट प्रवेश गरेको पनि बुद्ध एअरले खुलाएको छ ।

यस्तै विमानभित्र बसिसकेका यात्रु पनि मन्त्री एयरपोर्ट प्रवेश गर्नुपूर्व नै विमानका परिचारिकाहरुलाई अटेर गर्दै बाहिर निस्केर वादविवाद गर्न थाल्दा झनै उडानमा ढिलाइ भएको उसको भनाइ छ । मन्त्री ६ः५० मा एअरपोर्ट आइपुग्नु भएको र उहाँ सरासर विमानमा जाँदा पहिलेदेखि नै विवाद गरिरहेको समूहले विमानभित्र एकै ठाउँमा उभिएर मन्त्रीविरुद्ध आक्रोश पोख्न थालेको र त्यो क्रममा धेरै वजन एकै भागमा पर्दा विमान समेत ढल्किन पुगेको बुद्ध एयरले जनाएको छ ।

४र५ मिनेट विमान भित्रै आक्रोशित समूहले वादविवाद गर्दा उडान गर्न झनै ढिला भएको उसको भनाइ छ । घटनामा मन्त्री र सुरक्षाकर्मी तथा सहयोगीहरुले देखाएको संयमताका कारण पनि आक्रोशित समूहलाई समयमै साम्य पार्न सकिएको र ढिलै भए पनि उडान गर्न सकिएको पनि बुद्ध एअरले स्पष्ट पारेको छ ।

नेपालगञ्ज विमानस्थलाई दिएको उडान समयभन्दा २४ मिनेट मात्रै उडान ढिलाइ भएको उसले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू