नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय महाधिवेशन यही २०७६ साल आश्विन महिनाको २८ गते देखी ३० गते सम्म अर्थात १५– १७ अक्टोवर २०१९ मा गरिने भएको छ । अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले नेपाल सरकार परराष्ट्र मन्त्रालय समेतको सल्लाहमा यो निर्णय गरेको हो ।
यस वर्षको विश्व सम्मेलन पनि विगतमा झैं नेपाल सरकार नेपाल उद्धोग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा हुन गईरहेको छ । उक्त सम्मेलन आयोजनाका लागि नेपाल सरकार परराष्ट्र मन्त्रीको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समितिको गठन हुने कार्य अन्तिम चरणमा पुगेको छ । यस आयोजक समितिमा नेपाल सरकारका प्रतिनिधिहरु र सरोकारवाला संघ संस्थाका अध्यक्षहरु रहने छन् ।
यसैगरी संघको आन्तरिक आयोजक समिति संघका अध्यक्ष भवन भट्टको अध्यक्षतामा गठन भएको छ । सम्मेलन तथा महाधिवेशन सम्बन्धी तयारीका कामहरु तदारुकताका साथ अघि बढी रहेका छन् । यस वर्षको सम्मेलनको मूल विषय “म, मेरो एनआरएनए, र मेरो नेपाल“ रहने छ । सम्मेलनमा यसै विषयहरुमा आधारीत भएर विभिन्न शत्रहरुको आयोजना गरिने छ । सम्मेलनमा नेपाल सरकार यहाँका राजनैतिक दल एवं नागरिक समाजको उच्चस्तरीय सहभागीता रहने छ ।