नेपाल भ्रमण वर्ष २०२० प्रवर्द्धन गर्ने उद्देश्यले वेल्सको ब्रेकनमा ३ दिने क्याम्पिङ र हाइक फर नेपाल (लामो दूरीको पैदल यात्रा) गरिएको छ। पोखरेली मन्च यूके र वी विल राइज फाउन्डेसनको संयुक्त आयोजनामा अगस्ट २ देखि ४ तारिखसम्म आयोजित ’हाइक फर नेपाल’ कार्यक्रमले संयुक्त अधिराज्यको वेल्सलाई नेपालमय बनाएको थियो ।
बेलायतभरबाट सहभागी हुन आएका विभिन्न उमेर समूहका करिब ३०० जना पैदल यात्रीहरुले वेल्सको लाङ्गघोर्स माउन्टेनमा ९ किलोमिटर लामो पैदल यात्रा उत्साहका साथ पूरा गरेका थिए । नेपाल सरकारले घोषणा गरेको ’नेपाल भ्रमण वर्ष २०२०’ प्रवद्र्धन अभियानलाई सक्दो सहयोग गर्ने दायित्व संसारभर रहेका प्रवासी नेपालीहरुको पनि रहेको उल्लेख गर्दै हाइकिङ कार्यक्रमका प्रमुख संयोजक खुशीमान गुरुङले आगामी वर्षहरुमा पनि यसलाई निरन्तरता दिइने बताउनुभयो ।
आयोजना स्थलमा नेपालको मानचित्र, शान्तिका अग्रदूत भगवान गौतम बुद्धको आकृति र भूकम्पले तहसनहस पारेको ३ करोड नेपालीको अमूल्य धरोहर धरहरा निर्माण गरी विश्व शान्तिका लागी दीप प्रज्वलन समेत गरिएको थियो । भूकम्पमा ज्यान गुमाउनेहरुको स्मृतिसँगै नेपालकै पहिचान बनेको उक्त धरहरा यथासक्य छिटो निर्माण सम्पन्न गरियोस् भन्ने सन्देश स्वरुप सोको प्रतिमूर्ति बनाइएको पोखरेली मञ्चका अध्यक्ष मानप्रसाद गुरुङले जानकारी दिनुभयो । आयोजनास्थल नेपालमय बनाउन र सो सन्देश दिन करिब ६ मिटर (१८ फिट) अग्लो धरहरा गुरुङ आफैले निर्माण गर्नुभएको थियो ।
कार्यक्रममा मुख्य अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीले यस्ता कार्यक्रमले निरन्तरता पाइरहनु पर्ने उल्लेख गर्दै माउन्ट एभरेष्ट नामाकरण गर्ने सर जर्ज एभरेष्ट बेलायतकै भएकाले पनि दुई देशको सम्बन्ध थप गहिरो बनेको बताउनुभयो । बिदेश बसे पनि हरेक नेपालीले आफ्नो देशका लागि केही गर्नुपर्छ भन्ने दायित्वबोध गराउने खालका यस्ता कार्यक्रम संसारभर आयोजना गर्न सकिने जनाउँदै हङकङबाट सहभागिता जनाउनुभएका फाउण्डेसनका संस्थापक तुलसी गुरुङले सबैलाई आआफ्नो स्थानबाट मुलुकका लागी सकेको पहल गर्न अनुरोध गर्नुभयो ।
आयोजक पोखरेली मञ्चका अध्यक्ष मानप्रसाद गुरुङले यस्ता कार्यक्रमले नेपालीहरुबीच सद्भाव, भातृत्व र सौर्हदता बढाउने मात्र नभएर नेपालप्रति चासो र चिन्तन जगाउने एवं पर्यटनको विकासमा पनि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा ब्रेकनका मेयर काउन्सिलर एन माथिएज, धम्पूस र ब्रेकन ट्वीनिङ कमिटी यूकेका अध्यक्ष काउन्सिलर डेविड मेडिरिथ, गत मे १९ मा सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेका क्याप्टेन गेथिन डेभिस लगायत थुप्रै स्थानीय र विदेशीहरु सहभागिता रहेको थियो ।