अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२१ | Colorodo: 07:36

सुडानका पूर्वराष्ट्रपति बसिरलाई अभियोजनकर्ताको कार्यालयमा उपस्थित गराइयो

बिआरटीनेपाल २०७६ असार २ गते ९:३७ मा प्रकाशित

भ्रष्टाचारको आरोप लागेका सुडानका पूर्वराष्ट्रपति ओमार अल बसिरलाई अभियोजनकर्ताको कार्यालयमा उपस्थित गराइएको छ । पूर्वराष्ट्रपति बसिरमाथि भ्रष्टाचार तथा अवैधरूपमा विदेशी मुद्रा लुकाएको आरोप लगाइएको छ । उहाँमाथि लगाइएका आरोपबारे अनुसन्धानका लागि अभियोजनकर्ताको कार्यालयमा उपस्थित गराइएको हो ।

अनुसन्धानका लागि उपस्थित गराइँदा बसिर सुडानको परम्परागत पहिरनमा हुनुहुन्थ्यो । उहाँलाई कडा सुरक्षाका साथ राजधानीस्थित कोबर जेलबाट अभियोजनकर्ताको कार्यालयमा ल्याइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बसिरलाई सत्ताच्युत गरिएपछि पहिलो पटक सार्वजनिकरूपमा देखाइएको हो । उहाँलाई गत अप्रिल ११ मा सेनाको सहयोगमा पदच्युत गरिएको थियो । पूर्वराष्ट्रपति बसिरलाई भ्रष्टाचार आरोपबारे सुनुवाइका लागि चाँडै अदालतमा उपस्थित गराइने अधिकारीहरुले जनाएका छन् ।

लामो समयसम्म देशमा भ्रष्टाचार विरोधी आन्दोलन र महँगीको विरोधमा सुडानी जनताले गरेको प्रदर्शनपछि गत अप्रिलमा सुडानी सैनिक जनरल अब्देल फताह अल बुर्हानले ३० बर्ष सुडानमा नेतृत्वमा रहेका बसिरलाई सेनाको सहयोगमा पदच्युत गरेका थिए । पदच्यूत गरेपछि उहाँको घरबाट ११ करोड ३० लाख अमेरिकी डलर बराबरको विभिन्न तीन देशका मुद्रा जफत गरिएको प्रशासनले दाबी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू