अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३७ | Colorodo: 03:52

अमेरिका–मेक्सिको सहमति, आप्रवासीलाई रोक्न हरसम्भव कदम चाल्न मेक्सिको सहमत

बिआरटीनेपाल २०७६ जेठ २५ गते ९:५३ मा प्रकाशित

मेक्सिकोले आप्रवासीलाई सीमा क्षेत्रमा रोक्न हरसम्भव कदम चाल्न सहमति जनाएको छ । अमेरिकासँग तीनदिने वार्ताको अन्त्यमा यो सहमति सम्भव भएको मेक्सिकोका विदेशमन्त्री मार्सेलो एड्राडले जानकारी दिनुभयो ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तिमा मेक्सिकोले अवैध आप्रवासी र मानव तस्करी रोक्न सम्भव भएसम्मका उपाय अपनाउन सहमति जनाएको उल्लेख गरेको छ । अमेरिकाले आप्रवासीहरूको दाबीबारे समीक्षा भइरहँदा शरणार्थीको मान्यता खोज्नेहरूलाई मेक्सिको पठाउने कार्यक्रम विस्तार गर्न सहमति जनाएको छ । त्यसको बदलामा अमेरिकाले न्यायिक प्रक्रिया तीव्रगतिमा अघि बढाउनेछ ।

दुई मुलुकबीचको सहमतिअनुसार मेक्सिकोले सोमबारबाट आफ्ना सबै सीमा क्षेत्रमा ‘नेसनल गार्ड’ खटाउनेछ भने ग्वाटेमालासँगको दक्षिणी सीमामा थप ६ हजार अतिरिक्त सेना परिचालन गर्नेछ । यस्तै, मानव तस्करीको सन्जाल निस्तेज पार्न निर्णायक कदम चाल्नेछ ।

दुवै मुलुक सीमा सुरक्षा बलियो बनाउन द्विपक्षीय सहकार्य बढाउन सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट आयात हुने सामानमा दन्डात्मक कर लगाउने चेतावनी दिएपछि मेक्सिको सहमतिमा पुग्न बाध्य भएको हो । यसअघि, राष्ट्रपति ट्रम्पले मेक्सिकोबाट निर्यात हुने वस्तुमा ५ प्रतिशत थप कर लिने निर्णय गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू