अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३८ | Colorodo: 22:53

अमेरिका र बेलायतबीको सम्बन्ध उत्कृष्ट, एलिजाबेथ ‘महान महिला’ – राष्ट्रपति ट्रम्प

बिआरटीनेपाल २०७६ जेठ २१ गते १०:३३ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र बेलायतबीचको अनन्त मित्रवत सम्बन्धको प्रशंसा गर्नुभएको छ । बेलायतको तीन दिने राजकीय भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशबीच सदियौंदेखि रहँदै आएको मित्रवत् सम्बन्ध उत्कृष्ट रहेको बताउनुभएको हो ।

बेलायती महारानी एलिजावेथ द्वितीयले राष्ट्रपति ट्रम्प र प्रथम महिला मिलानिया ट्रम्पको सम्मानमा बकिंघम प्यालेसमा आयोजना गरेको राजकीय भोजमा ट्रम्पले दुई मुलुकबीचको सम्बन्धको प्रशंसा गर्नुभएको हो ।

त्यस क्रममा महारानी एलिजाबेथले दुई देशले दशकौंदेखि दुवै देशका नागरिकको सुरक्षा र समृद्धिका लागि सहकार्य गरेको बताउनुभयो । तीन दिने भ्रमणका लागि ट्रम्प सोमवार लण्डन जानुभएको थियो । लण्डन पुगे लगत्तै ट्रम्पले स्थानीय मेयरको आलोचना गर्नुभएको थियो । उहाँले लण्डनका मेयर सद्दिक खानलाई असक्षमको संज्ञा दिनुभएको थियो ।

मेयर खानले ट्रम्पका लागि रातो कार्पेट बिच्छ्याउन नहुने र राजकीय भ्रमणको मान्यता पनि दिन नहुने बताउनुभएको थियो । ट्रम्पले त्यसकै जवाफ लण्डन पुगे लगत्तै ट्वीटरमार्फत दिनुभएको थियो ।
तर रात्रीभोजको क्रममा दिएको वक्तव्यमा भने उहाँले बेलायत र बेलायती नागरिकको प्रशंसा गर्नुभयो । ट्रम्पले महारानी एलिजाबेथ ‘महान महिला’ भएको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू