अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०७ | Colorodo: 23:22

आमा हुन आमा (पुस्तक/कृति समीक्षा )

सदानन्द अभागी २०७६ जेठ २० गते १९:२२ मा प्रकाशित

परिचय
गीता खत्रीजीसँग साक्षात्कार नभए पनि उहाँको नाम र साहित्यक गतिविधि फेसबुकबाट जानकारी भएको थियो तर उनका कृतिहरू भने पढ्न पाएको थिइन । यस पटक गीता खत्री लगायत गोवर्द्धन पूजा, पदम विश्व कर्मा र नारायण अधिकारीको सम्पादकत्वमा अनेसास गजल गङ्गा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले प्रकाशन गरेको संयुक्त गजल कृति, मैले पढ्न पाएँ र मैले अनेसास गजलगङ्गाको समीक्षा पनि लेखे । सो गजलगङ्गाको समीक्षा मैले गीताजीलाई पठाइदिएँ । सो समालोचना अध्ययन गरेर मलाई उहाँले धन्यवाद दिनेक्रममा उहाँका दुई कृतिहरू (आमा हुन् आमा र झोखाङदेखि मजाटलानसम्म) पनि मलाई अध्ययनार्थ प्राप्त भए । मैले ती दुई कृतिहरूमा आमा हुन् आमालाई अध्ययन गर्दै गएँ र मलाई लागेका धारणाहरू यस विवेचनामा कोरेँ ।

वास्तवमा गीता खत्री नेपाली साहित्य जगतमा सुपरिचित नाम हो । उनले नेपाली साहित्यको क्षेत्रमा आफूलाई कवि, गजलकार, कथाकार, गीतकार, खण्डकाव्यकारको रूपमा, परिचित गराइसकेकी छन् । काठमाडौँ, कलंकीस्थान–१४मा वि.सं.२०२०सालमा जन्मनु भएकी गीता खत्री स्नातक, डिप्लोमा एलाएन्स फ्रान्स, पेरिसबाट र ओमेन लिडर सिप कोर्स, हन्टर कलेज, न्युयोर्कबाट, शिक्षा हासिल गरिसकेकी छन् । उनको साहित्यिक सङ्घसंस्थामा आवद्धता पनि छ । अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (सन् २०१०–२०१४), संरक्षक, नारी साहित्य प्रतिष्ठान र कौसीकी साहित्य पत्रिका, आजीवन सदस्य, गुञ्जन विश्व परिक्रमा (अनलाइन मिडिया) र सल्लाहकार अन्तर्दृष्टि, त्रैमासिकमा आबद्ध भएर सेवा गर्दै आएकी छन् ।

सम्मान/पुरस्कार
सर्वदावाङ्मय सम्मान (२०६४) नेपाल, अनेसास नेपाल च्याप्टर सम्मान (२०६७), नारी साहित्य सम्मान (२०६७), सरस्वती सङ्गीत सम्मान (२०६७), दायित्व वाङ्मय सम्मान(२०६९),महिला गीतकार सम्मान(२०६९), गङ्गादेवी चौधरी स्मृति सम्मान (२०७१) र Best INLS Chapter President Award(2008) आदि पुरस्कारबाट गीताजी पुरस्कृदत हुनुभएको छ ।

प्रकाशकीय धारणा
यस खण्डकाव्यको प्रकाशन नइ प्रकाशनले गरेको हो । प्रकाशकीयको कलमबाट यस कृतिका कृतिकारलाई यसरी मूल्याङ्कन गरिएको छ – ‘नेपाली भाषा साहित्यको फाँटमा गीता खत्री, परिचित नाउँ हो । एकातिर कविता र निबन्ध लेखनमा खत्रीको आफ्नै मौलिकता गाँसिएको छ भने अर्कातिर खोजअनुसन्धानमा पनि विशेष चासो राखेर नेपाली भाषालाई धनी बनाउने काम उनबाट भएको छ । त्यसैले उनका रचनाले विशेषतः : आफ्नै परिवेशलाई मोह लगाएको पाइन्छ ।’

भूमिकाकारको धारणा
यस कृतिको भूमिका इन्दिरा प्रसाईँले लेख्नुभएको छ । भूमिकामा इन्दिराजीले नेपाली साहित्यकारहरूको नकारात्मक उपज आफ्नो सिर्जना बाहेक अरूले के लेख्छ या स्तर हुँदैन भन्ने जुन प्रवृत्ति केही नेपाली साहित्यकारमा देखा परेका छन् त्यस्ता प्रवृत्तिप्रति कटाक्ष गर्दै प्रश्न गर्नुहुन्छ – ‘कसैको सिर्जनालाई सहज स्वीकार गर्न किन मानिसलाई कठिन हुन्छ ?’ उहाँले गीताका गीत तथा यस खण्डकाव्यमा पाएको साहित्यिक उच्चताको प्रशंसा गर्नुभएको छ । उहाँले गीताप्रति ‘अहो !कस्तो प्रतिभा शाली मान्छे भन्दै गीताको लेख पढेर गौरान्वित भएको धारणा प्रकट गर्नुभएको छ । मलाई पनि के भन्न मन लाग्छ भने जसले काम गर्छ त्यसको बारेमा टीकाटिप्पणी हुने गर्छ । यस्ता टीकाटिप्पणी गर्ने मित्रहरूले लिखितरूपमा सबैले पढ्न पाउने गरी गर्नुभयो भने मात्र त्यो टीकाटिप्पणीले सार्थकता पाउँछ । सूर्यलाई हत्केलाले ढाकेर ढाकिँदैन । सर्जक र सिर्जना भनेको सूर्य किरण हुन् । ती साधारण किरणलाई अवरोध पुग्न जान्छ भने अझै तीक्ष्ण भएर आफ्नो गन्तव्य स्थलतिर प्रवेश गर्दछन् र आफ्नो स्थान लिएर प्रकाश छरेर नै छाड्छन् । प्रकृतिको वरदानलाई कसैले छेकेर छेक्दैन र मानवको कुप्रवृतिले निम्त्याउने बाधा अड्चन धेरै दिन टिक्दैन । यहाँ भूमिकामा इन्दिराजीले आजको यथार्थ मानवीय प्रवृत्तिलाई केलाउने र गीताका साहित्यिक अभिव्यक्तिलाई प्रष्टयाउने जुन प्रयास गर्नुभएको छ,त्यसलाई हर्दिकता र्शाउँदै, मैले आफ्नो धारणा मात्र राखेको हुँ । मैले गीताद्वारा सिर्जित एक खण्डकाव्यको अध्ययन गरे । यो खण्डकाव्य आकारमा सानो छ तर आजको नेपाली समाजमा युवा तथा युवतीहरूले जवानीमा प्रेममा फस्ने र त्यसबाट प्राप्त नतिजाबाट आफ्नो जीवनमा आइपर्ने सामाजिक तथा मानवीय समस्या र आफूले जन्माएका सन्ततिमा पर्ने नकारात्मक प्रभाव तथा समाजको नकारात्मक सोचाइलाई प्रष्ट्याउँदै ज्वलन्त उदाहरण सहित यो खण्डकाव्य हामी समक्ष पस्कनु भएको छ ।

कृतिकारको आफ्नै धारणा :–
साहित्यकार इन्दिरा प्रसाईँले काव्य लेख भन्ने धारणाले यो खण्डकाव्यको जन्म भएको धारणाको साथै गीताजीले ‘साहित्य सिर्जना पनि भगवानको मावनसृष्टिजस्तै लाग्न थालेका छ मलाई’, भन्दै अब लेखिएका लेख रचनाहरूलाई राम्रो नराम्रो नभनी प्रकाशमा ल्याउने प्रतिबद्धता पनि जाहेर गर्नुभएको छ ।

खण्डकाव्यको कथा सार
यस खण्डकाव्यको कथाको सारसक्षेपमा लिनु पर्दा एउटी युवती सुनकेसरीको एउटा युवकसँग प्रेम हुन्छ र गर्भधारण पनि हुन्छ र छोरी पनि जन्मिछे तर विवाह बन्धनमा सामाजिकरूपमा बाँधिन नपाई, छोरीलाई गर्भमा छाडी, युवक अमेरिका जान्छ । दुवैको बिचमा चिठीपत्र आदान प्रदान हुन्छ । त्यहाँ टुइनटावरमा दुई ओटा जहाज पसेर जलाएर खरानी पार्दा, ती युवकको पनि मृत्यु हुन्छ र यता नेपालमा विवाहको दिन पर्खँदै गरेर छोरीलाई पालेकी सुनकेसरीको पनि त्यो आघातलाई सहन नसकी मृत्यु हुन्छ । टुहुरी छोरीले शोकमय भएर आँसु झार्दछे र बिलौना गर्दागर्दै, खण्डकाव्य समाप्त हुन्छ ।

भागगत विशेषता
यो खण्डकाव्य सात भागमा विभाजित छ । प्रथम भागमा न्यु योर्क सहरको चित्रलाई उतार्ने प्रयास गरिएको छ । मैले यी भागहरूमा दृष्टि पात गर्दै अगाडि बढ्ने अनुमति चाहन्छु । प्रथम भागमा इष्ट रभिरको सलल बगेको दृश्य, दिनरात एकै लाग्ने सहर, संसारभरका मानिसको जमघट, विविधताको भरिएका रीति रिवाज तथा संस्कृति, बाग वगैं र सहरमा सुन्दर सोच भएका मानिसको बसोबास, अनमोल मणिलाई छरेर ईश्वरले सिर्जना गरेको जस्तो लाग्ने यस्तो अनुपम सिङ्गारले सजिएको नगरी भए पनि यो खण्डकाव्का नायकको मनले नेपाल खोज्दछ भनिएको छ र न्यु योर्क सहरको अवस्थिति, सामाजिकता, समाजमा पाइने समानता, शिष्टता, आर्थिक प्राकृतिक सम्पन्नता आदि विविधतामा सुन्दर शैलीमा यो सहरको वर्णन गरिएको छ । हेरौँ कवितामै न्यु योर्क र नेपालप्रति नायकले राखेका धारणा–

न्युयोर्कको वर्णन–
प्रकृति तिम्रो सुन्दरताले यो देश ढाकेको
प्रकृतिभित्रै सजिई न्यु योर्क कर्मले राखेको
नायकको मनले नेपालको खोजी – पृष्ठ २३
प्रकृति पनि खिल्दछ यहाँ हजार हजार
तर नि प्रिय मनले मेरो खोज्दछ नेपाल

पृष्ठ २५
वास्तवमा जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ त्यसै भनिएको होइन । नायकले अमेरिकामा पुगेपछि, त्यहाँको त्यो सुन्दरताले उसको मनलाई आकर्षण गर्न सक्दैन । उसले नेपाल र आफ्नी प्रियलाई भुल्न सक्दैन । यो भाग सुन्दर श्लोकले भरिएका छन् र श्लोक मार्मिक र भावपूर्ण छन् ।

भाग –२मा नेपालतिरै फर्किन्छ मन शीर्षककमा, खण्डकाव्यले आफ्नो नेपालको मार्ग समाउँछ । यस भागमा नायकले नायिकालाई भन्दछ– ‘मुटु त्यहीँ नै छोडिएको रहेछ, दुखेको मुटुलाई खिलाएर बसेको छु तापनि सपनामा नेपालकै माटो चुमेर बस्छु र दर्दले भरिएको घाउलाई निको पार्दछु । तिम्रो र मेरो भेटको क्षण, त्यो आँखै आँखाले गरेका कुरा, असारमा हिलोमा यी पाउले नाचेको खुसीको नाच, त्यतिवेलामा प्राप्त स्वर्गको अनुभूति, हामी बिचको माया अधुरो भयो, हामी छुट्टिने मन्जुरी कसरी भयो, हाम्रा ती तेत्तिस कोटि देवता नेपालका गहना, कस्तुरी मृगको वासना, सेती कालीले बगाउने मोती, माछापुछ«को सौन्दर्यता, सीता, बुद्ध जन्मेको र प्रिय बसेको देशलाई चुम्न मन सधैँ आतुर हुन्छ र विरहले मन लोलाउन थाल्छ, यो मनले न्याउलीलाई बोलाउन थालेको छ । त्यसो हुँदा चाडै आएर, यो दुरी मेटेर, त्यही माटो चुमेर,पसिना पुछेर,मनको विरहलाई रोकेर दिनलाई बिताएर रातको निलाइबाट बचेर समाजलाई राखेर सिँदुर हालौँला, तिम्रो मनको कल्पना सबै पुर्‍याउँला भनेको दूरदेशमा यी भावना र धारणा केवल सपना मात्र हुन गए र स्वर्ग पनि नर्क बन्न गयो’ भनिएको छ–
दूर देशमा सहारा मेरा कल्पना मात्र भो
छाडेर आएँ अधुरो सपना स्वर्ग नि नर्क भो

पृष्ठ २८
भाग ३मा,देशको अवस्था शीर्षकमा नायकले नायिकालाई यी व्यथा मेरा मात्र नभएर देशकै व्यथा हो प्रिय, आज देशको अवस्था देखेर कान्तिपुर रुन्छिन्, कसको नजर परेर हो देशको अवस्था गिर्दै छ, युवा रोजगार नपाएर विदेश पलायन छन्, बूढाबूढीले पिँढी कुरेर बसेका छन्,गाउँमा मलामी छैनन्,, देशलाई युवाको खाँचो छ, नेतृत्ववर्गलाई कुर्सीको रोग लागेको छ र देशलाई लुटेर विदेशमा लगेर आमालाई रुवाएका छन् भनी देशको चिन्तन गरिएको छ । यस भागमा आजको नेपाल र नेपालीले भोगेका वास्तविक यथार्थतालाई सजीवरूपमा उतार्न काव्यकारको कलमल सबल देखिन्छ । हेरौँ कविताको एक श्लोक–
आमाको लाम्टा चुसेर यिनले आमालाई रुवाए
देशलाई लुटी विदेशमा लगी आमालाई गिराए

पृष्ठ २९
भाग ४ विपत्तिको क्षण शीर्षकमा छोरीले बाबा र आमा बिचको प्रेमप्रसङ्गको वर्णन, बाबाको पत्र आउनु, छोरीले पढेर आमालाई सुनाउनु, टुइनटावरमा जहाजबाट आगो लाग्नु, बाबाको मृत्यु हुनु, आमा पनि त्यसै दिनदेखि ओछ्यानमा परेर त्यहीकारणबाट मृत्युवरण हुनुको मार्मिक वर्णन, कारुणिकरूपमा, गरिएको छ ।यहाँ भनिउको छ – बाबाले चिठी लेखेर वर्णन गर्नु,चाँडै भेटौँला भन्नु, त्यसैमा आमा रमाउनु र बेहुली भेषमा रमाएको अनुभूति गर्नु, चिठी बाँच्न छोरीलाई लगाउनु,चिठी सुनेर आमा टोलाउनु, गाउँलेले विवाह नै नभै पाएकी छोरी कस्तो निर्लज्य भन्दै गाउँमै राख्न नहुने भन्नु र गाउँलेका बचन आमले सुन्नु, सुनेर, बाबा आउनु हुनेछ भन्ने आशामा धैर्य लिएर छोरीलाई हुर्काई रमाउनु, यसै अवस्थामा सेप्टेम्बरको बिहानी पख पहिलो पहर अमेरिकाले कहिल्यै नभुल्ने जहर, तुइन टावरमा दुई ओटा जहाज पसेर विनाश गरे र टावर जलेर खरानी भयो, मानवले मानवलाई विनाश गर्ने यो प्रवृत्तिमा सबैका आँसु बगे, धेरै देशका मानिसहरू जो यहाँ बसेका थिए सबै जले, यसै घटनामा बाबा परेर मरे, आमाका सबै सपना चुँडिए, त्यसै दिनदेखि आमा ओछ्यानमा सुतिन्, आमालाई सिँदुर नहाली बाबाले मलाई गर्भमा छाडेर गए, आमालाई रुवाए अनि यो सारा कालो बादल मतिर मडारियो, म टुहुरी भए भन्दै बिलौना गरिएको छ यस भागमा । यो यथार्थ परक टावरको जलाई, मानवको क्षतिलाई अध्ययन गर्दा मानवमन वेदनाले भरिन्छ । त्यो घटना र वेदनालाई काव्यकारले कारुणिक रूपमा प्रष्ट्याउन कोसिस गरेको देखिन्छिन् । केही श्लोकहरू–

प्रकृति रोइन विनाश भयो सुन्दर सहर
आँसुका धारा बगाए सबले छल्कियो समुद्र

पृष्ठ ३१
गएथे बाबा सिँदुर पनि नहाली आमालाई
गर्भभित्र त्यो मलाई छोड्दा रुवायो आमलाई

पृष्ठ ३२
आमाको प्यार विधाता तिमीले चुँडेर लग्यौ नि
धर्तीको राम्रो प्रीतिको फुल न खिली लग्यौ नि

पृष्ठ ३२
भाग ५मा आमाका सपनाहरू बिलाए शीर्षकमा बाबा कामको खोजीमा अर्काको देशमा, आमाको अधुरो जीवन र अधुरो इच्छा मनमा लिएर नलगाई पोते कुमारी भएर रहन पर्ने कस्तो खेल विधाताले रचे, आमाका मनका मनभित्र खिलाई, मनमै बिलाइरहे भने बाबाका काम पनि अधुरै रहे । बाबाको मृत्युले आमा दिन दिन गल्न थालिन् । कुमारी जीवन काट्न बाध्य भएकी आमाको यो दर्दनाक अवस्था देखेर छोरीको मन पनि काटिन्छ,, उनलाई प्रकृति पनि रोए जस्तै लाग्छ, मन रेटिन्छ र भगवानसँग सहने शक्तिको याचना गर्दछिन् तर के गर्नु आमा पागल बन्छिन् र छोरीले बिलौना गदै दैवसँग के खेल रचेऊ, जिउँदै म मरेँ भन्दै बिलौना गरिएका श्लोकको अध्ययनले सबैको मन छुन्छ ।

भाग ६ सम्झनाका पलहरू शीर्षकमा छोरीले आमालाई सम्भने क्रम जारी छ । छोरीले सम्झिन्छिन् आमाले कथा सुनाएको, बिरामी पर्दा जागेर बसेको र ती पलहरू आज तिम्रो मुहारको झल्को देख्छु,, बदामी आँखा, कोइलीको बोली, बारुली कममर, लक्ष्मीको जस्तो रूप, घरकी मङ्गल थियौ तिमी, तिम्रो मृत्युले घर आज मसान भएको छ, तिमीले मायाको फुल रोपेर, मानव यात्रा रोकेर, महिना दिन थला परेर, तिम्रो बोली शिथिल हुन थाल्यो, आँखा धमिलिन थाले, पुसको महिना, कलिलो घाम डुबेर जाँदा यो संसार त्याग्दै कलिली छोरीलाई छोड्दै, टुहुरी बनाएर गएको धारणाहरूलाई बर्णनगरिएको छ यस भागमा । आमा मरेपछि छोरीले आमको बिलौनामा आमाको मृत्यु देखेर व्याकुल हुनु, संसार सबै अँध्यारो हुनु, ज्वारभाटा चल्नु, वागमती पनि रुनु, दिलमा आत्मा गढ्नु, जताततै आत्मालाई गमेर हेर्नु, हावाले पनि आमाको आत्मा ल्याए भझै लाग्नु, कोइलीले पनि उनकै गीत गाए झै लाग्नुको साथै कसरी बिर्सनु, कसरी पीडा सहनु, बत्राबालाई कहिल्यै देख्न पाइएन तर आमाको आत्मा मुटुमा बसे झै लाग्नु, फुल र पातबाट बोली सुने झै लाग्नु, जुनेली रातमा सपनीमा काखमा राखेको, अनुहार देखेको, सूर्य उदाएको, पवनसँगै मेरा किशोरी सपनाहरू उडेका, बाँकी केवल सपना मात्र रहेका, आदि आदि अनगिन्ती यादले भरिएका, मार्मिक धारणा पोखिएका भावनाको साथै यसमा पोखिएका श्लोक श्लोकमा शोकाकुल शब्दले मानवमनलाई छिया छिया पार्दछ र कमलो मन हुने पाठकका नयन रसाउँछन् । यहाँ प्रस्तुत गरिएका कारुणिक शब्दले त ढुङ्गाको दिल भएकारूको मन पनि पगाली दिन्छ । हेरौँ यस भागका केही मार्मिक श्लोकहरू –
आमाको माया अमृत हुन्छ बिटुलो हुँदैन
यसलाई कुनै मूल्यमा पनि तौलिन हुँदैन

पृष्ठ ३८
फुलमा उनी जूनमा उनी झझल्को आउँछ
त्यही नै रूप खोजी हिँड्छु पाउन गाह्रो छ

पृष्ठ ३९
भाग –७ अन्तिम सम्झनाको घुट्को शीर्षकमा पनि छोरीको नै बिलौना छ । छोरीले, आमा कहाँ पुग्यौ,तिमी पुगेको ठाउँमा मलाई पनि पुग्ने रहर छ,फुलका पातमा कथा लेखिरहूँ, तिमीमै मिलिरहूँ, जीवनभित्र जीवन ज्योति तिमीले देखायौ, जीवन हाँस्ने र जीवन बाच्न पनि तिमीले सिकायौँ, अनन्तभित्र बिलाए पनि मनमा राख्छु, सृजनाभित्र पनि राख्छु । के गर्ने मानव जीवनमा पीडा र दर्द साथै सृष्टिको चक्र बुझेर पनि सहनु पर्दछ, बाबा र आमाको स्वर्गमा भए पनि भेट हओस्, जब आमाले बाबालाई स्वर्गमा भेटिन् भने टुहुरी छोरीलाई सम्झेर रुन्छिन्,आशा गरौँ ती दुई जोडा स्वर्गमा मिलुन् अधुरा कामलाई पूरा गरुन्,रमाएर बसुन्, सपनीमा म भेट्न आउने छु, तर्पण म दिने छु, तस्बिर सँगाली राख्ने छु,, ती दुई जोडी स्वर्गको घरमा कहिल्यै पनि नछुट्टिने गरी रमाई बसुन्, विविध कामना, भावना र आराधनाले माता पिताको स्मरण र श्रद्धासुमनलाई टक्र्याएको र यस भागमा पनि बाबा आमाको मिलनको कामना छोरीले बिलौना गर्दै यो खण्डकाव्य समाप्त हुन्छ
। हेरौँ केही श्लोकहरू–

मानव चोला अमूल्य नै छ बुझ्नु नै पर्दछ,
जीवनभित्र जीवनको अर्थ खोज्नु नै पर्दछ

पृष्ठ ४३
मायाको फुल रोपेर अब स्वर्गमा बस्नु है
इच्छाका फूलरोपेर त्यहीँ खिलेर हाँस्नु है

पृष्ठ ४४
पिरती फुल फुलिरहोस् स्वर्गको बागमा
म जोर बत्ती बालिरहुँला दुवैको नाउमा

पृष्ठ ४४
पात्रहरूको छनौट
यथार्थतामा महाकाव्य तथा खण्डकाव्यका पात्रको चयन गर्दा धीरोदात्त(/धेरै उच्च गुण भएको व्यक्तिको छनौट गर्नुपर्छ भनिएको हुन्छ तापनि यो पुरानो धारणालाई काव्यकारहरूले तोडिसकेका छन् । यस खण्डकाव्यमा आमा बाबु र छोरी साधारण खानदानका पात्रको चयन भएको देखिन्छ । आमा र बाबुको बिचमा पत्रद्वारा भावनाको पोखाइ भएको छ । यस खण्डकाव्यमा छोरीको भूमिका व्यापक एवं म सक्रिय छ ।

परिवेश
यो कृति अमेरिकाको न्यु योर्क सहरको साथै नेपालको परिवेशमा लेखिएको यो खण्डकाव्यमा दुवै देशको प्राकृतिक सौन्दर्यतालाई टपक्कै टिपेर लपक्कै टाँसेको देखिन्छ । विदेशमा बस्दा स्वदेशको याद र ममताले ढाकेको हृदयमा दुवै देशमा भएका सामाजिक, राजनीतिक, र धार्मिक यथार्थतालाई पनि प्रष्ट्याउन खोजिएको छ ।

शीर्षकीकरण
आमा हुन आमा खण्डकाव्यको शीर्षक पनि सार्थक छ किनकि आमाका जीवनका घटना तथा जीवन कथा सबै छोरीबाट नै प्रष्टपारिएको छ । छोरीले नै सारा खण्डकाव्यको घटनाक्रमलाई समाज माझ ल्याइएको छ ।

भाषा शैली
भाषा सरल छ । लोक छन्दमा रचित यो खण्डकाव्य, फाटफुट श्लोक बाहेक, लयात्मक र गायत्मक पनि छन् ।, सरल सहज भएकोले सबै तहका पाठकलाई यो पाच्य पनि छ ।

आमा हुन् आमा खण्डकाव्यभित्रका केही बुँदाहरू
आमा हुन् आमा खण्डकाव्यका बारेमा माथि उल्लेख गरिएका कथा सार र भागगत संक्षेपीकरणबाट यस खण्डकाव्यले समाएको मार्गलाई त सहजै जान्न सकिन्छ । खण्डकाव्य भनेको एक निश्चित घटना वा घटनाक्रमको एक भागको वर्णन गरिएको कविताकै विस्तारित तथा वर्गीकृत रूप हो । खण्डकाव्यलाई प्रबन्ध काव्य पनि भनिन्छ ।आमा हुन् आमा खण्डकाव्य छोटो छ र यसमा पोखिएका घटनाहरू शोकले भरिएका छन् । झट्ट हेर्दा यो शोककाव्यजस्तो लाग्छ । यस खण्डकाव्यमा जम्मा १६२ श्लोकहरू समावेश गरिएका छन् । सर्गका हिसाबले पनि यसमा ७ओटा भागले खण्डकाव्य सिर्जना भएको छ । आयतनका हिसाबले लघुखण्डकाव्यको रूपमा यो दर्शिएको छ । खण्डकाव्यको विषयवस्तु सामाजिक प्रकारको छ,,समाजमा यस्ता घटनाले कति किशोरीको मृत्युवरण भएको छ ।

यस खण्डकाव्यमा पनि अन्तत्वगत्वा कुमारी आमा बन्नु परेको, समाजले तिरस्कार गरेको, वैवाहिक जीवन को अनुभव न भई प्रेमीसँग पुनर्मिलन हुन नसकी मृत्युवरणभएको घटना प्रस्ट पारिएको छ । त्यसर्थ विषयवस्तुमा खण्डकाव्य सफल भएको मान्नु पर्दछ अनि समाजमा प्रेममा अलपत्र परेका किशोरीहरूको ज्वलन्त उदाहरण बन्न पुगेको छ खण्डकाव्य । यस खण्डकाव्यको केन्द्रित भावलाई मनन गर्दा प्रेम गर्दा भावीजीवनको ख्याल गर्नु पर्ने, वैवाहिक सम्बन्ध गाँसिनु अधि आफ्नो अमूल्य अस्तित्वलाई समर्पण गर्न नहुने, समर्पण भएर अलपत्र परेमा धैर्य धारण गर्न सक्न पर्ने, समाज र सरकारले यस्ता घटनाक्रमलाई सकरात्मकरूपमा लिएर समाधानतिर उन्मुख गराउनु पर्नेजस्ता मौन अवधारणा र उद्देश्य लिएको देखिन्छ खण्डकाव्यले । यस खण्डकाव्यले अमेरिका र नेपालको बर्णनमात्र नभएर राष्ट्र, राष्ट्रियता, देशप्रेम, जातीय विभेदका, विदेशमा बस्नुपर्दाको पीडा जीवन जगतका कुरामा पनि सङ्केत गरेको छ । विम्ब, अलङकार र प्रतीकको प्रयोग पनि भएको देखिन्छ । कृतिकारले यो खण्डकाव्यको रूपमा प्रस्तुत गर्नुभएकोले खण्डकाव्यको रूपमा यसलाई सहजै ग्रहण गर्न सकिन्छ ।

अन्त्यमा
यस खण्डकाव्यमा सुधारका पक्ष पनि छन् । काव्य लेखनमा निरन्तरता दिँदै जाँदा लेखन सवलतातिर जान्छ । गीताजीले गरेको यो प्रयास प्रशंसनीय छ । यो खण्डकाव्य सानो छ तर मीठो छ । यसले समाजमा घट्ने जटिल समस्यालाई उठाएको छ । जसको कारणले संसारका युवतीहरूले मृत्युवरण गर्नु पर्ने, समाजमा तिरस्कृत हुनुपर्ने, भावी जीवन नै अलपत्र पर्न सक्ने यथार्थतालाई प्रष्टयाएको छ । यस खण्डकाव्यप्रति माथि धेरै विषयवस्तुमा विश्लेषण भैसकेको छ । त्यसो हुँदा गीताजीलाई काव्य लेखनको लागि अझै अग्रसरताको खाँचो छ । निरन्तरतामै तपाईँको भविष्य उज्ज्वल छ भन्दै साहित्य लेखनमा तपाईँको भूरि भूरि प्रशंसा गर्दै, धन्यवाद सहित बिदा चाहन्छु।

 

*कावा सोती नगरपालिका –७, शान्ति चोक, नवलपरासी

प्रतिक्रिया