अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३१ | Colorodo: 22:46

सिरियामा इजरायली आक्रमण, १० जना मारिए

बिआरटीनेपाल २०७६ जेठ १९ गते १०:०५ मा प्रकाशित

इजरायलले छिमेकी मुलुक सिरियामा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ । इजरायली सेनाका अनुसार मारिनेहरुमा सिरियाली सेना र विदेशी लडाकूहरु छन् । सिरियाबाट इजरायली अधीनस्थ गोलान हाइट्सको माउन्ट हर्मनमा रकेट आक्रमण गरेपछि इजरायलले हवाई आक्रमण गरेको इजरायली सेनाले जनाएको छ ।

सेनाले जारी गरेको विज्ञप्तिमा इजरायलले सिरियाका दुईवटा सैनिक अखाडा, गुप्तचर पोस्ट र एसए–२ हवाई प्रतिरक्षा अखाडामा आक्रमण गरिएको उल्लेख छ । बेलायतस्थित एक युद्ध अनुगमनकर्ता निकायका अनुसार सिरियाको राजधानी दमास्कस नजिक हवाई आक्रमण गरिएको र त्यहाँ सिरियाली सैनिक, इरानी सैन्य तथा हेजबुल्लाह लडाकूहरु छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफूले हवाई आक्रमण गर्न आदेश दिएको बताउनुभएको छ । उहाँले आफ्नो भूमिभित्र कसैले आक्रमण गरे त्यो सह्य हुन नसक्ने बताउँदै इजरायलभित्र कसैले आक्रमण गरे त्यसको डटेर प्रत्याक्रमण गर्ने स्पष्ट पार्नुभयो ।

इजरायलले सिरियामा सयौं हवाई आक्रमण गर्दै आएको छ । यी आक्रमणहरु मुख्यतः सिरियामा रहेका इरानी र हेज्बुल्लाह लडाकू विरुद्ध केन्द्रित रहने गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू