वेस्ट इन्डिजले इंग्ल्यान्ड र वेल्सको संयुक्त आयोजनामा जारी विश्वकप एकदिवसीय क्रिकेटमा शानदार सुरुआत गरेको छ । शुक्रबार वेस्ट इन्डिजले पाकिस्तानमाथि ७ विकेटको जित हासिल गरेको हो ।
नटिङ्घममा भएको खेलमापािकस्तानले दिएको १०६ रनको झिनो चुनौती वेस्ट इन्डिजले १३ ओभर ४ बलमै ३ विकेटको क्षतिमा पूरा गर्यो । खेलमा ओपनिङ ब्याट्सम्यान क्रिस गेलले विस्फोटक ब्याटिङ गर्दै ३४ बलमा ५० रन जोड्न सफल रहे । पाकिस्तानका मोहम्मद अमिरले ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २१ ओभर ४ बलमात्र क्रिजमा टिक्दै १०५ रन बनाएको थियो । फखर जमान र बाबर अजामले समान २२ रन बनाएको इनिङ्सलाई ध्वस्त पार्नेक्रममा वेस्ट इन्डिजका ओशाने थोमसले सर्वा्धिक ४ विकेट लिए । त्यस्तै, जासन होल्डरले ३ तथा अलराउन्डर आन्द्रे रसेलले २ विकेट लिए । ओशाने ‘प्लेयर अफ दी म्याच’ घोषित भए ।
बिहीबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई १०४ रनको फराकिलो अन्तरले हराएको थियो । विश्वकप क्रिकेटको यो १२ औं संस्करणमा १० टोली सहभागी छन् । ‘राउन्ड रोबिन लिग’का आधारमा जारी प्रतियोगितामा शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।