अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४५ | Colorodo: 17:00

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको वाल डोजर लगाएर भत्काईयो

बिआरटीनेपाल २०७६ जेठ १५ गते १०:०६ मा प्रकाशित

धुर्मुस सुन्तली फाउण्डेशनले चितवनमा बनाउन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको वाल डोजर लगाएर भत्काईएको छ । चितवन भरतपुर महानगरपालिका–१६, कृषि तथा वन विश्वविद्यालयको जग्गामा बन्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको जस्तापाताको बार बुधबार बिहान स्थानीयले डोजर चलाएर भत्काइदिएका हुन् ।

नेकपाका स्थानीय तहका नेता प्रकाश कँडेलको नेतृत्वमा संयौंको संख्यामा गएको जत्थाले रंगशाला छेक्न ठड्याएको जस्तापाता क्षत विक्षत तुल्याउँदै कर्मचारीलाई धम्की दिएको धुर्मुसले जानकारी दिनुभयो । धुर्मुसका अनुसार यसअघि आफ्नै आँगनअगाडि क्रिकेट रंगशाला बन्ने भएपछि स्थानीय उत्साहित बनेर धुर्मुस दम्पतीलाई अबिरजात्रा गर्दै स्वागत गरेका थिए । तर, तिनै स्थानीय बुधबार एकाबिहानै डोजरसहित पर्खाल र तारजाली भत्काउन आएका देख्दा आफू मर्माहत भएको उहाँले बताउनुभयो ।

स्थानीयका अनुसार प्रकाश कँडेल माओवादी पृष्ठभूमिका हुन् । उनी नै घटनाको मुख्य योजनाकार भएको भन्दै प्रहरीले खोजी तीव्र पारेको छ । धुर्मुसका अनुसार विश्वविद्यालयसँग साँध जोडिएका जग्गाधनीहरूले बाटो फराकिलो पार्नुपर्ने माग राखेका थिए । निर्माणाधीन क्रिकेट रंगशालाको पश्चिमतर्फबाट अहिले पनि सडक गएको छ । रंगशाला बन्ने भएपछि स्थानीयले ७ मिटरको उक्त मोटरबाटो बढाएर २१ मिटर चौडा बनाउनुपर्ने माग राख्दै आएका थिए ।

प्रतिक्रिया