अमेरिकी समाचार संस्था सिएनएनले विश्वकै अग्लो शिखर सगरमाथाबारे भ्रमपूर्ण समाचार लेखेको छ । “रहस्यमय सगरमाथाका कतिपय कथाहरु कल्पनाले भरिएका छन्”, शीर्षकमा छापिएको समाचारमा भनिएको छ, “हामीलाई २९ हजार ३५ फिट उचाइको सगरमाथा संसारकै सर्वोच्च शिखर हो भनेर पढाइएको छ । तर विश्वको सर्वोच्च शिखर प्यासिफिक ओसनको मध्यमा रहेको मउना की हो, जुन समुन्द्रको सतहबाट १३ हजार ७ सय ९६ फिट अग्लो छ । सतहबाट नभई समुन्द्रको पिँधबाट नाप्ने हो भने यो झण्डै ३३ हजार ५ सय फिट अग्लो छ ।”
सिएनएन समाचारमा सगरमाथा विश्वको अग्लो शिखर नभएको जिकिरसहित विश्वका अन्य दुई पहाडको चर्चा पनि गरको छ । “पृथ्वीको केन्द्रबाट नाप्ने हो भने पनि सगरमाथा सर्वोच्च होइन। यो गौरव इक्वेडरको चिम्बोराजोले बोकेको छ। चिम्बोराजोको शिखर समुन्द्री सतहबाट २० हजार ५ सय ६४ फिट अग्लो छ”, सिएनएनले अगाडि लेखेको छ , “इक्वेडरको भूभागमा पृथ्वी थोरै बाक्लो भएकाले (पृथ्वीको निरन्तरको परिक्रमाका कारण पैदा हुने बलले यस्तो हुने गर्छ) मात्रै हो, अन्यथा चिम्बोराजोको टुप्पो पृथ्वीको केन्द्रबाट सगरमाथाको तुलनामा थप ६ हजार ८ सय फिटको दुरीमा छ।”
यसका साथै सिएनएनले सन् १९२२ मा पहिलो आरोहीले ज्यान गुमाएयता सगरमाथामा २०० आरोहीको मृत्यु भइसकेको जिकिर गरेको छ । सगरमाथा आरोहणको सफलता दर केवल २९ प्रतिशत रहेको पनि उसले दाबी गरेको छ । “यति हुँदाहुँदै पनि प्रतिवर्ष सयौंले आरोहणको अनुमति पाउँछन्, जसबाट जनही ११ हजार अमेरिकी डलर असुलिन्छ,” समाचारमा भनिएको छ ।
यसैवीच, पर्यटन विभागले भने सगरामाथाबारे विश्वका सञ्चारमाध्यमले पटक पटक अफवाह फैल्याएको जनाएको छ । पर्यटन विभागकी निर्देशक मिरा आचार्यले सगरमाथामा आरोहीको धेरै चापका कारण मृत्यु भएको कुराको खण्डन गर्नुभएको छ । उहाँले प्रसिद्ध आरोही कामीरिता शेर्पासहितले सगरमाथामा मानिसको चापका कारण मृत्यु बढेको कुराको खण्डन गरिसकेको बताउनुभयो । “सगरमाथा विश्वको सर्वोच्च शिखर हो । यसमा कुनै विवादै छैन”, उहाँले भन्नुभयो, “पटक पटक यसलाई विवादित बनाउने काम भएको छ । पछिल्लो पटक सगरमाथामा चाप रहेको कुरा गलत हो । चापका कारण मृत्यु भएको भन्नेहरुले त्यसको पुष्टि गर्न सक्नुपर्छ । होइन भने अफवाह फैल्याउने शैलीमा कसैले पनि समाचार लेख्नु गलत हो ” ।