अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२९ | Colorodo: 07:44

भारत लोकसभा निर्वाचनको मतगणना जारी, भारतीय जनता पार्टी नेतत्वको गठवन्धनले बहुमत ल्याउने निश्चित, मोदी पुनः प्रधानमन्त्री बन्ने

बिआरटीनेपाल २०७६ जेठ ९ गते ६:५६ मा प्रकाशित

भारतमा बिभिन्न ७ चरणमा सम्पन्न लोकसभा निर्वाचनको मतगणना जारी रहेको छ । जारी मतगणनामा भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले बहुमत स्थानमा जित हातपार्ने देखिएको छ ।

मतगणनाको पछिल्लो नतिजामा भाजपा गठबन्धनले ३५० भन्दा बढी सिटमा अग्रता लिएको छ । योसँगै भाजपा नेता नरेन्द्र मोदी फेरि प्रधानमन्त्री बन्ने निश्चितप्रायः भएको छ । निर्वाचनलाई प्रधानमन्त्री मोदीका लागि जनमत संग्रहका रुपमा समेत हेरिएको थियो । निर्वाचनको मतगणना जारी रहँदा हिन्दु राष्ट्रवादी भाजपाको मुख्यालयमा समर्थकहरुले खुसियाली मनाउन थालेका छन् ।

पछिल्लो मतगणना अनुसार राहुल गान्धी अध्यक्ष रहेको भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (युपीए) १०० भन्दा कम सिटमा अगाडि देखिएको छ । ५४५ सदस्यीय लोकसभा सिटमध्ये ५४३ स्थानका लागि भएको निर्वाचनको मतगणता बिहीबार बिहानबाट सुरु भएको हो ।

लोकसभामा बहुमतका लागि २७२ सिट आवश्यक पर्छ । विद्युतीय मेसिनमार्फत् मतगणना भइरहेको छ । निर्वाचन आयोगले चरणबद्धरुपमा परिणाम सार्वजनिक गरेकाले अन्तिम परिणाम आउन केही ढिलाइ हुने अनुमान गरिएको छ । गत अप्रिल ११ बाट सुरु भइ मे १९ मा सकिएको निर्वाचन सात चरणमा भएको थियो ।

पाँच वर्षअघिको चुनावमा भाजपाले एक्लै २७२ स्थानसहित उसको गठबन्धनले ३३६ सिटमा जित हात पारेको थियो । कांग्रेस ४४ सिटमा सीमित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू