अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५९ | Colorodo: 04:14

मिलाप फाउण्डेसनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

बिआरटीनेपाल २०७६ जेठ ५ गते ९:३२ मा प्रकाशित

नुवाकोट, मिलाप फाउण्डेसनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । ‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारासहित सामाजिक कार्य गर्दै आएको मिलाप फाउण्डेशनले जेठ ४ गते शनिवार नुवाकोटको विदुर नगरपालिका, वडा नं. ७, साहुगाउँमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । अल्का अस्पताल काठमाडौँ र जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटका चिकित्सकहरूले बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका थिए । बच्छलादेवी बहुउद्देश्यीय सहकारी संस्था लि. नुवाकोटको सहकार्यमा भएको सो स्वास्थ्य शिविरमा पाँच सय भन्दा बढी व्यक्तिले स्वास्थ्य परीक्षण गराएका थिए । 

अल्का अस्पतालका स्त्री रोग विशेषज्ञ डा. जितेन्द्र सिंह र डा. एञ्जिला मालाकारले नुवाकोटको दुर्गम ठाउँमा आएर सेवा प्रदान गर्ने अवसर जुटेकोमा आयोजकलाई धन्यवाद दिएका थिए । स्वास्थ्य परीक्षणमा बिरामीहरूलाई निःशुल्क औषधी पनि वितरण गरिएको थियो ।

विशुद्ध सामाजिक सेवाका भावनाले सामाजिक उत्तरदायित्वका कार्य गर्दै आएको मिलाप फाउण्डेसनले निःशुल्क शिविर आयोजना कार्यक्रममा साथ सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिँदै आउँदा दिनहरूमा पनि समाजका विभिन्न क्षेत्रमा काम गर्ने फाउण्डेसनकी अध्यक्ष गीता अधिकारीले बताइन । उनले नेपालमा २०७२ सालमा गएको विनाशकारी भूकम्पमा आहत भएकाहरूलाई तत्काल राहत पुर्‍याउने कार्य गरेको स्मरण गर्दै फाउण्डेसनले समय समयमा सामाजिक कार्य गर्दै आएको बताउँदै, अब यसलाई अझ विस्तृत रूपमा लैजान आफूहरू तयारी गरिरहेको जनाकारी गराइन ।

वडा नं. ७ का वडाअध्यक्षले मिलापले आफ्नो ठाउँमा आएर निःशुल्क शिविर बाट यहाँका जनतालाई प्रत्यक्ष सहयोग पुर्‍याएकोमा धन्यवाद दिएका थिए । त्यस्तै बच्छलादेवी बहुउद्देश्यीय सहकारी संस्था लि.का मुकुन्द घिमिरेले साथ सहयोगका लागि सबैलाई धन्यवाद दिएका थिए ।

शिविरमा फाउण्डेसनका उपाध्यक्ष राज लुईंटेल, महासचिव किरणप्रसाद अधिकारीले सामाजिक उत्तरदायित्वका कार्यहरूलाई निरन्तरता दिने बताए । कार्यक्रममा फाउण्डेसनका सचिव गोकर्ण लामिछाने, सदस्यहरू सारिका घिमिरे, प्रल्लाहद केसी, योगेश काजीको सक्रिय सहभागिता रहेको थियो ।

मिलाप फाउण्डेशनले गत चैत्र ८ गते नुवाकोट जिल्लाकै विदुर–३ मैतार स्थित चण्डी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू