अमेरिकाले उत्तर कोरियाको मालवाहक समुद्री जहाज जफत गरेको छ । उक्त जहाजले अन्तरर्राष्ट्रिय प्रतिबन्धको उल्लंघन गरेको अमेरिकाले आरोप लगाएको छ । अमेरिकाको न्यायिक विभागले उक्त जहाजमा कोइला लैजादैँ गरेको जानकारी दिएको छ । उत्तर कोरिया कोइलाको ठूलो निर्यातकर्ता हो, तर संयुक्त राष्ट्रले भने यसको निर्यातमा प्रतिबन्ध लगाएको छ ।
यो जहाजलाई यसअघि अप्रिल २०१८ मा पनि इन्डोनेशियामा जफत गरिएको थियो । अमेरिकाले प्रतिबन्धलाई उल्लंघन गरेको आरोपमा उत्तर कोरियाको कुनै पनि जहाज जफत गरेको यो पहिलो घटना हो । यो कदमले दुई देशबीचको सम्बन्धमा थप तनाव बढ्न सक्ने आशंका गरिएको छ । यो वर्षको फब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच असफल भेटवार्ता भएको थियो ।
अमेरिका उत्तर कोरियालाई परमाणु कार्यक्रम बन्द गर्न भनिरहेको छ भने उत्तर कोरियाले अमेरिकाले आफूमाथि लगाएको प्रतिबन्धलाई हटाउनुपर्ने माग गरेको छ । यसबीच पछिल्लो पाँच दिनभित्र उत्तर कोरियाले दुईपटक परमाणु परीक्षण गरेको छ । यी परीक्षणमार्फत् उत्तर कोरिया अमेरिकामाथि दबाब बढाउन चाहिरहेको बताइएको छ । उत्तर कोरियाका लागि अमेरिकाका विशेष प्रतिनिधी स्टिफन बिगन अहिले दक्षिण कोरियामा हुनुहुन्छ ।