अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१७ | Colorodo: 21:32

अमेरिका प्रवेश गर्ने आप्रवासीको जोखिमपूर्ण यात्रा

बिआरटीनेपाल २०७६ वैशाख १४ गते १०:०३ मा प्रकाशित

अमेरिका प्रवेश गर्ने उद्देश्यसहित मध्य अमेरिकी देशका सयौँ आप्रवासी मेक्सिकोको दक्षिणी क्षेत्र हुँदै अघि बढेको जनाईएको छ । ‘द बिट्स’ नाम गरेको आप्रवासी समूह रेल मार्फत अमेरिका तर्फ अघि बढेको समाचार संस्था रोयटर्सले जनाएको छ । मेक्सिको दक्षिणी क्षेत्रमा रहेको सीमाबर्ती शहर तापाचुलामा रहेको शिविरबाट आप्रवासीहरु रेल चढेर अमेरिका प्रवेश गर्ने जोखिमपूर्ण यात्रामा निस्किएका हुन् । उनीहरु शिविरबाट भोगर अमेरिका तर्फ लागेका हुन् ।

सरकारी तथ्यांक अनुसार झण्डै १३ सय आप्रवासी शिविरबाट निस्किएका थिए, तर अधिकांश शिविर फर्किएको मेक्सिको सरकारको दाबी छ । मन्द गतिमा रहेको रेलमा विभिन्न देशबाट आएका पुरुष, महिला तथा बालबालिका चियापास राज्यको एरिएगा बजारबाट चढेको मेक्सिकोका सञ्चारमाध्यमलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

रेलमा कम्तिमा ३९५ जना चढेको आप्रवासन अधिकारीले बताएका छन् । स्थानीय समय अनुसार बिहीबार बेलुका रेल चढेकाहरुलाई शुक्रबार ओरालिएको सरकारी अधिकारीले उल्लेख गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जसरी भए पनि अवैध आप्रवासीको प्रवेश रोक्ने बताउँदै आएका छन् । सीमा क्षेत्रमा अमेरिकाले सुरक्षा व्यवस्था कडा पारेको छ । तर अमेरिका प्रवेश गर्ने लक्ष्यसहित मध्य अमेरिकी देशबाट मेक्सिको तिर हानिएका ‘क्यारावान’ आप्रवासी समूहका सदस्य भने जसरी पनि अमेरिका पस्ने ध्यानमा छन् । ट्रम्पले आप्रवासीलाई रोक्नका लागि मेक्सिकोसँगको सीमा बन्द गर्ने चेतावनी पनि दिनुभएको छ ।

अधिकांश आप्रवासी अहिले मेक्सिकोको तापाचुलासहितका क्षेत्रमा रहेका अस्थायी शिविरमा छन् । शिविरमा उनीहरुका लागि अत्यावश्यक सेवाहरुको अभाव छ । मेक्सिकोले उनीहरुलाई आफ्नो देश फर्काउने प्रयास गरिरहेको छ । आप्रवासीका लागि बनाइएका शिविरमा क्षमता भन्दा दोब्बर मानिस राखिएको आप्रवासीको पक्षमा वकालत गर्दै आएका समूहले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू