अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४८ | Colorodo: 11:03

सरकारको एक्लो प्रयासबाट मुलुकको विकास र समृद्धि असम्भव – पुर्व प्रधानमन्त्री भट्टराई

बिआरटीनेपाल २०७६ वैशाख १३ गते ९:२९ मा प्रकाशित

नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार एक्लैको प्रयासबाट मुलुकको विकास र समृद्धि सम्भव नहुने बताउनुभएको छ । संयोजक भट्टराईले सरकारसँग सहकार्य गरेर मुलुकको विकास र समृद्धिको अभियानमा जुट्न पनि निजी क्षेत्रका व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।

शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ‘आन्तरिक पर्यटन मेला’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले पर्यटन क्षेत्रको विकासका लागि लगानी भित्र्याउने काम निजी क्षेत्रले नै गर्नुपर्ने तर्कसमेत गर्नुभयो । त्यसका लागि सरकारले पूर्वाधार विकास र आवश्यक नीति र कानुनको तर्जुमा गरिदिनुपर्ने संयोजक भट्टराईको भनाई छ ।

संयोजक भट्टराईले पर्यटन क्षेत्रको प्रवर्द्धन गरेर मुलुकलाई समृद्ध बनाउन तुलानात्मक लाभका क्षेत्रहरूको पहिचान गरी लगानी गर्न पनि व्यवसायीहरूलाई आग्रह पनि गर्नुभयो ।सोही कार्यक्रममा बोल्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पर्यटन क्षेत्रलाई उद्योगको रूपमा विकास गरेर मुलुकलाई समृद्ध बनाउन सरकार तत्पर रहेको बताउनुभयो ।

‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउने उद्देश्यका साथ आयोजना गरिएको मेलामा सबै जिल्लाबाट प्रतिनिधित्व हुनेगरी एक सय ११ वटा व्यवसायिक तथा फुड स्टलहरू रहेका छन् । मेलामा पर्यटन क्षेत्रका सेवा प्रदायक संस्थाहरू ट्रेकिङ, ट्राभल्स, एयरलाइन्स, होमस्टे, टुरिज्मसँग सम्बन्धित कलेज लगायतका प्रर्दशनीहरू मुख्य आकर्षणको रुपमा राखिएका छन् ।

‘पहिला देश अनि विदेश’ भन्ने मूल नाराका आयोजना गरिएको मेलाको २ लाख अवलोकनकर्ताले अवलोकन गर्ने तथा पर्यटन प्रवर्द्धनको क्षेत्रमा उल्लेख्य योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू