रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको सुदूरपूर्वी तटीय शहर भ्लादिभोस्तकमा भेटवार्ता भएको छ । रुसी राष्ट्रपति पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम बुधबार निजी रेलमा चढेर रुसको भ्लादिभोस्तक पुग्नुभएको थियो । उहाँलाई भ्लादिभोस्तकमा स्थानीय जनताले परम्परागत सांस्कृतिक भेषभुषा सहित स्वागत गरेका थिए ।
दुबै नेताबीच भ्लादिभोस्तकको रुस्की द्वीपस्थित फार इस्टर्न फेडेरल युनिभर्सिटी क्याम्पसमा पनि भेटवार्ता हुँदैछ । किमको भ्रमणलाई मध्यनजर गर्दै भ्लादिभोस्तकको सुरक्षा व्यवस्था कडा पारिएको छ । रुसी राष्ट्रपति पुटिन चीनमा आयोजना हुने बिआरआई अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन भ्लादिभोस्तक हुँदै चीनको बेइजिङ जादै हुनुहुन्छ ।
दुबै नेताबीच कोरियाली प्रायःद्वीपमा आणविक अप्रसारका साथै रुस–उत्तर कोरिया सम्बन्धलाई नयाँ आयाम दिने प्रयत्नमा केन्द्रित हुने रुसी अधिकारीहरुले जनाएका छन् । यद्यपी दुबै नेताका तर्फबाट संयुक्त वक्तव्य जारी नहुने र कुनै नयाँ सम्झौतामा हस्ताक्षर पनि नहुने क्रेमलिनले जनाएको छ ।
रुसी राष्ट्रपति पुटिनले कोरियाली प्रायःद्वीपमा उत्पन्न तनाबका सन्दर्भमा आफ्ना तर्फबाट सकारात्मक प्रयत्न जारी राख्ने बताउनुभएको छ । उत्तर कोरियाली नेता किमले भ्रमणका बारेमा पहिलो प्रतिक्रिया दिँदै कोरियाली प्रायःद्वीपका विविध विषयलाई सम्बोधन गर्न रुसी राष्ट्रपति पुटिनसँगको भेटवार्ता अर्थपूर्ण हुने टिप्पणी गर्नुभएको छ । क्रेमलिनका अनुसार प्रारम्भमा दुबै नेताबीच मात्र भेटघाट हुनेछ, र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय सामूहिक भेटवार्ता हुनेछ ।
रुसी समाचार संस्था रिया नोभोस्तीका अनुसार दुबै प्रमण्डलबीच करिब चार घण्टा वार्ता हुनेछ। किमका साथ उत्तर कोरियाका सैनिक, नागरिक एवं पार्टीका वरिष्ट अधिकारीहरु सहभागी छन । रुसी प्रतिनीधिमण्डलमा रुसी उपप्रधानमन्त्री युरी टुटनेभ, विदेशमन्त्री सर्गेई लाभरोभ, यातायात मन्त्री लगायत वरिष्ठ अधिकारीहरु सहभागी छन् ।