थाइल्यान्डमा जारी एसीसी यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । बुधबार थाइल्यान्डको चियाङमाइमा भएको खेलमा मलेसियालाई ३९ रनले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।
नेपालले दिएको १४२ रनको चुनौती पछ्याएको मलेसियाले ३३ ओभर २ बलमा अलआउट हुनुपूर्व १०२ रनमात्र बनाउन सक्यो । मलेसियाका लागि सार्भिन सुरेद्रनले अविजित रहँदै सर्वाधिक ४६ रन जोडे । यस्तै, अमहेद अस्यार्फले १७, किशन कुमारले ११ रनको योगदान गरे । नेपालका रमेश कुर्मी, तिलकराज भण्डारी र प्रशान्त महतले समान २/२ विकेट लिए ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३४ ओभर ५ बलमा अलआउट हुनुपूर्व १४१ रन बनाएको थियो । नेपालका लागि आशिष भट्टराईले सर्वा्धिक ३४ तथा विशालविक्रम केसीले २८ रन बनाए । यस्तै, दीपक बोहरा र अर्जुन कुमालले समान १६र१६ रन जोड्दा सुवास ऐरले ११ रन बनाए ।
जितसँगै समूह ‘ए’मा रहेको नेपालले २ खेलबाट ४ अंक जोडेको छ । यो जितसँगै नेपाल सेमिफाइनल नजिक पुगेको छ ।