डिसी । अमेरिकाको भर्जिनियाको हर्नडन सहरमा पहिलो पटक आयोजना गरिएको नेपलिज अमेरिकन हेरिटेज डे अर्थात् नेपाली अमेरिकन सम्पदा दिवस ऐतिहासिक रूपमा सम्पन्न भएको छ । उक्त दिवसमा नेपालका लागि पूर्व राजदूत स्कट डेलेसी तथा प्रसिद्ध वरिष्ठ लोक गायक प्रेम राजा महतलाई सम्मान गरिएको छ । गत अप्रिल २० तारिखका दिन सम्पन्न नेपलिज अमेरिकन हेरिटेज डे हर्नडन सहरको हर्नडन माध्यमिक विद्यालयमा कार्यक्रम आयोजना गरिएको थियो ।
नेपाली अमेरिकन सम्पदा दिवस तथा नेपाली नयॉ वर्ष २०७६ कार्यक्रम भव्यताको साथ समुदायको सहभागितामा समापन गरिएको छ । अमेरिकाको विभिन्न स्थानमा नेपाल दिवस मनाउने क्रम बढ्दो र उत्तर अमेरिका कै सर्वाधिक पुरानो संस्था अमेरिका नेपाल सोसाइटीले पनि डिसी महानगर क्षेत्र मै हेरिटेज मनाउँदै आई रहेको अवस्थामा प्रथम पटक भर्जिनियाको हर्नडन सहरमा नेपलिज अमेरिकन हेरिटेज डे मनाएको छ ।
अमेरिकामा नेपाली मूलका नेपालीहरू अमेरिकी राजनीतिको मूलप्रवाहमा प्रवेश गरिरहेको अवस्थामा सन् २०१८ को चुनावमा प्रदीप ढकाल हर्नडन सहरको परिषद् सदस्यमा निर्वाचित भएपछि ढकालको पहलमा हर्नडन सहरले हरेक वर्ष अप्रिलको तेस्रो हप्ता नेपलिज अमेरिकन हेरिटेज डे मनाउने निर्णय गरे अनुसार प्रथम नेपलिज अमेरिकन हेरिटेज डे सफलता पूर्वक सम्पन्न भएको हो ।
उक्त दिवसमा नेपलिज अमेरिकन हेरिटेज डे को घोषणा भएको समेत पत्र पढेर सुनाइएको थियो । उक्त घोषणा पत्र आदर्श नेपाली समाजका सक्रिय सदस्य एवं एनआरएनए भर्जिनिया शाखाका सभापति गोविन्द सुबेदीले बुझेका थिए ।
कार्यक्रममा सम्मानित भए पछि नेपालका लागि पूर्व राजदूत स्कट डेलेसी तथा लोकप्रिय वरिष्ठ गायक तथा महा बाणिज्यदुत प्रेम राजा महत, हर्नडन नगर परिषद् सदस्य प्रदीप ढकाल तथा मेरिल्याण्ड राज्यका लागि विधान सभा सदस्य एच पी ह्यारी भण्डारीले मन्तव्य राखेका थिए ।
अमेरिकन पूर्व राजदूत डेलेसीलाई अमेरिकामा रहेता पनि नेपाललाई माया गर्ने र अहिले सम्म नेपाललाई निरन्तर रूपमा विभिन्न सहयोग र साथ दिँदै गैर मुनाफा संस्था सोरवे फाउन्डेसन (प्रतिष्ठान) मार्फत सहयोग गरी रहेको,नेपाल र अमेरिका बिच पुलको काम गरी विशेष योगदान गरेकोमा सम्मान गरिएको हो ।
यसै गरी नेपालबाट अमेरिका आएता पनि नेपाली कला संस्कृतिलाई जगेर्ना तथा अमेरिकन लोक संस्कृतिलाई समेत नेपाली समुदायमा पुराउने, दुई देश बिच रहेको लोक संस्कृति सम्बन्ध विस्तार र वृद्धि गर्ने काम तथा अतुलनीय योगदान गरे बापत सम्मान गरिएको हो ।
डेलेसी तथा महतलाई आदर्श नेपाली समाज एवं एनआरएनए भर्जिनिया शाखाका सभापति अर्जुन सिग्देल तथा गोविन्द सुबेदीले सम्मानपत्र प्रदान गरेका थिए । साथै समाजका सदस्य परशुराम भण्डारीले डेलेसी तथा महतलाई खादा लगाई सम्मान गरेका थिए ।
कार्यक्रममा पहिलो पटक नेपाली परम्परागत दुर्लभ सङ्गिनी गीत तथा नृत्य श्री ओम कृतन मण्डलीका नेपाली महिलाहरूले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल झल्काउने विविध झॉकी, लाखे नाच, सॉस्कृतिक कार्यक्रम अवलोकन गर्न हर्नडनका नगर प्रमुख, वर्तमान र पूर्व पदाधिकारीहरू, नेपाली मूलका अमेरिकन मूलधारमा प्रवेश गर्ने ह्यारी भण्डारी, हे मार्केट सहरका नगर परिषद् सदस्य मधु पन्थी, नेपाली समुदायका विभिन्न सङ्घ/संस्थाका प्रतिनिधि तथा नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो । सभा कक्ष खचाखच भरिएको थियो भने कार्यकममा रात्रि भोजनको व्यवस्था समेत गरिएको थियो ।
कार्यक्रमको आयोजना आदर्श नेपाली समाज एवं एनआरएनए भर्जिनिया शाखाले गरेको थियो भने उक्त समारोहमा नेपाली समुदायले नेपाली भेष भूषा र संस्कृति झल्किने पहिरनहरू लगाएर आएका थिए । कार्यक्रम सञ्चालन आरती पराजुली सिग्देल तथा राजेश क्षेत्रीले गरेका थिए ।