अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२१ | Colorodo: 22:36

चलचित्र क्षेत्रका बेथिति विषयक अन्तर्कृया कार्यक्रम सम्पन्न

समीर बलामी २०७६ वैशाख २ गते १८:४१ मा प्रकाशित

काठमाडौँ । चलचित्र पत्रकार सङ्घ नेपालले नेपाल चलचित्र निर्माता सङ्घको सहकार्यमा नयाँ वर्षको अवसरमा चियापान समारोह तथा चलचित्र क्षेत्रका बेथिति विषयक अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको प्रमुख अतिथ्यतामा राजधानीको धुम्बाराही स्थित स्काई पार्टी भेन्युमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा चलचित्र पत्रकार सङ्घ नेपालले नव नियुक्त विकास बोर्डका अध्यक्ष केशव भट्टराईलाई बधाई ज्ञापन पनि गरेका छन् । साथै वर्ष २०७५को समिक्षगत अवधारण पनि कार्यक्रममा संयोजक तथा चलचित्र पत्रकार सङ्घका सचिव समीर बलामी प्रस्तुत गरेका थिए ।

अन्तर्कृया कार्यक्रममा बोल्दै विकास बोर्डका अध्यक्ष केशव भट्टराईले चलचित्र क्षेत्रमा समस्या नै समस्या रहेको बताए । चलचित्र निर्माण, वितरण र प्रदर्शनमा धेरै समस्या भएको उनले स्विकारे । त्यसको समाधानको लागि पहल गर्दा पनि अहिले नीति अभावका कारण सम्भव नरहेको उनको तर्क छ । उनले आफ्नो पहिलो काम चलचित्र नीतिलाई सरकारबाट पारित गराउने रहेको बताए । जब चलचित्र नीति बन्छ, त्यसपछि चलचित्र क्षेत्रमा देखिएका बेथितिहरूको बारेमा समाधान खोज्न सजिलो हुन्छ । हामी सबै मिलेर प्रक्रियागत रूपमा समाधान खोज्न सक्छौँ अध्यक्ष भट्टराईले भने ।

हामी विभिन्न समयमा चलचित्र क्षेत्रमा देखिएका समस्याहरूको बारेमा छलफल गर्छौँ, समस्या निकाल्छौँ तर समाधान गर्न सक्दैनौँ । त्यसैले अब चलचित्र नीतिले मात्रै समाधान खोज्ने हुँदा नीति पास गराउन सबै चलचित्रकर्मीहरू एकतावद्ध तरिकाले लाग्नुपर्ने उनको धारणा थियो । साथसाथै अध्यक्ष भट्टराईले आउँदो आर्थिक वर्ष भित्र देशैभर बक्स अफिसको परीक्षण गरिने बताए । बक्स अफिस परीक्षण पश्चात् पूर्ण कार्यन्वयनतिर आफू अग्रसर हुने पनि उनले बताए ।

यस्तै निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले समस्याको समाधान तिर सम्बन्धित संस्थाले पहल नखोजेको र त्यसको मारमा निर्मातालाई मात्रै पारेको बताएका छन् । उनले निर्माताको धेरै समस्याहरूको बारेमा चलचित्र सङ्घसँग सम्झौता भए पनि त्यो कार्यान्वयन नभएको बताएका हुन् । सम्झौता कार्यन्वयन गर्न चलचित्र सङ्घ हच्किएको देखिन्छ, वितरकसँगको सम्झौता पत्रमा पनि उल्लेख भए अनुसारको कार्यान्वयन हुँदैन अध्यक्ष अधिकारीले भने । उनले कलाकारले आफ्नो आचरण परिवर्तन गर्नुपर्ने पनि बताएका छन् । कलाकारले आफूलाई रिजर्भ गर्न नसक्नु, आफ्नो दिनचर्यादेखि सबै कुरा सामाजिक सञ्जालमा पोख्नु, अनावश्यक पारिश्रमिकको माग गर्नु जस्ता समस्याहरू कलाकारमा रहेको उनले बताएका हुन् । वितरण र प्रदर्शनको समस्यामा निर्माता मारमा परेको उनले बताए । त्यसको जिम्मेवार निकाय वितरक र चलचित्र सङ्घले यस विषयमा सोच्नुपर्ने बताए । यसमा सहकार्य र समन्वय गर्न विकास बोर्डलाई पनि अधिकारीले आग्रह गरे ।

यता चलचित्र सङ्घका अध्यक्ष प्रदीप कुमार उदयले चलचित्र क्षेत्रमा कोही पनि ईमान्दार नभएको आरोप लगाए । उनले चलचित्रकर्मीमा सम्मान र सद्भाव नै नरहेको दाबी गरे । आफ्नो चलचित्र आउँदा सबै जायज र अरूको चलचित्र आउँदा सबै कमजोरी देख्ने समस्या रहेको बताए । यस्तै प्रदर्शन र वितरणमा देखिएको समस्यामा बोल्दै उदयले गलत समाचार दिने निर्माताहरू जिम्मेवार रहेको बताए । आफ्नो वास्तविक व्यापार लुकाएर मिडियामा प्रचार बाजी व्यापारको तथ्याङ्क दिने, गलत समाचार दिने परम्पराको अन्त्य हुनुपर्ने उनले बताए । कलाकारहरूले पनि आफ्नो पारिश्रमिक बढी दाबी गर्नु गलत रहेको उनको भनाई छ । उनले पारिश्रमिक बढी माग्ने कलाकारले व्यापारको केही प्रतिशत जिम्मेवारी लिनुपर्ने दाबी गरे ।
प्रदर्शन र वितरणमा देखिएका समस्यामा सबैमा मपाईत्व भएको कारण समाधान नभई रहेको उनले बताए । साझा समस्यालाई सबै चलचित्रकर्मीले आफ्नो समस्या सम्झेर समाधान गर्नुपर्ने उनो तर्क थियो । जबसम्म एकको समस्यामा अर्को चलचित्रकर्मीले साथ र सहयोग गर्न सक्दैन तबसम्म समस्याहरू निराकरण नहुने उनको दाबी छ ।

यस्तै चलचित्र पत्रकार सङ्घका अध्यक्ष सन्दीप सापकोटाले निर्माताहरूले नै गलत समाचार सम्पे्रषण गरिरहेको बताए । आफ्नो चलचित्र लाग्दै गर्दा गलत समाचार र गलत व्यापारको तथ्याङ्क दिने गरेको उनको भनाई छ । हामी पत्रकारको काम सही सूचना दिने हो । तर सूचना आउने स्रोतबाट नै गलत आएपछि त्यसको जवाफदेहिता स्रोत अर्थात् निर्माताहरूले नै लिनुपर्ने अध्यक्ष सापकोटाले बताएका हुन् । सबै पत्रकार सही भने पनि हैन । तर, गलत समाचार सम्प्रेषण गर्छ भने त्यसको

ध्यानाकर्षण गराउनु पर्छ । गलत समाचार सम्प्रेषण गर्न निर्माताहरूले नै पत्रकार दिइरहने र समस्या पत्रकारमाथि थुपारिरहने निर्माताहरू सचेत हुने पर्ने सापकोटाको तर्क थियो ।

यता आधा दर्जन बढी वितरकहरूलाई कार्यक्रमको सन्दर्भ दिएर पटक पटक उपस्थित हुन आग्रह गर्दा पनि वितरकहरू मिडियामाझ आउन डराएको चलचित्र पत्रकार सङ्घका सचिव समीर बलामीले दाबी गरेका छन् । सबैलाई पटक पटक आग्रह गरेर कार्यक्रमको बारेमा जानकारी गराउँदा पनि उपस्थित हुने वचन गरेका वितरकहरू उपस्थित नभएको उनले बताएका हुन् । निर्माताको समस्याको बारेमा वितरकमा देखिएका कारणहरूको समाचार बनाउँदा पत्रकारलाई धम्की दिने र सामाजिक सञ्जालमा मनको बह पोख्ने वितरकहरू कार्यक्रममा उपस्थित नहुनुने प्रदर्शन र वितरणमा ठुलो समस्या वितरककै कारण भएको उनको दाबी थियो । वितरकहरू मनोज राठी, सुशील पोखरेल, गोविन्द शाही, प्रचण्ड मान श्रेष्ठ, निरक पौडेल, अशोक शर्मा लगायतलाई आमन्त्रण गरिएको चलचित्र पत्रकार सङ्घले जनाएको छ ।

वितरकको रूपमा उपस्थित भएका गोपाल काजी कायस्थले वितरकहरूमा प्रतिस्पर्धा रहेको बताए । अरूको अस्तित्व स्वीकार गर्न नसक्नुले वितरकको राजनीतिमा नेपाली निर्माताहरू मारमा परेको उनले स्विकारे । उनले पछिल्लो समय मनोज राठी र विक्रम पराजुलीका कारण चलचित्र ए मेरो हजुर ३ र यात्रा एक साथ रिलिज भएको बताए । यस्तै समस्या चलचित्र क्षेत्रमा धेरै छ । वितरकहरू आफ्नो मात्रै अस्तित्व रहेको भान गर्छन् । अरूको मतलब राख्दैनन् त्यस कारण निर्माताहरू मारमा परेको हो वितरक गोपाल काजी कायस्थले भने । सबै वितरकहरू दोषी नभएको उनले बताए । केही वितरकहरू मात्रै यस्तो भएको गोपालकाजीको तर्क थियो ।

कार्यक्रममा कलाकार तथा निर्देशक दीपा श्री निरौलाले समग्र चलचित्र क्षेत्र सबैको साझा भएकोले सबै मिलेर समस्या समाधान गर्नुपर्ने बताए । एउटाले अर्को लाई असर पार्ने भएकोले १/२ मात्र चलचित्र नभएर सबै चलचित्र चल्नुपर्ने उनको तर्क थियो ।

कार्यक्रममा चलचित्र क्षेत्रका बेथितिहरू बारे धेरै सञ्चारकर्मीहरूले आफ्ना जिज्ञासा राखेका थिए । नेपाली चलचित्र क्षेत्रको लागि २०७५ कालो वर्ष,
एक वर्ष भरि ९७ वटा चलचित्रहरू रिलिजमा ८० चलचित्र डुबानका कारण, बक्स अफिस पूर्ण कार्यन्वयन नहुनुका कारण, निर्माणमा देखिएका समस्या, वितरकहरूले एकै दिन दुई भन्दा बढी चलचित्र जुधाउने समस्या, प्रमोसन र वितरणमा देखिएका समस्या, चारैतिरबाट विदेशी फिल्मले घेर्ने तथा चलचित्र इन्कोड देखि हलमा हुने प्रमोसनमा र केडिएम चार्जमा समेत रहेको समस्याका बारेमा छलफल भएको थियो ।

कार्यक्रममा निर्देशकहरू प्रदीप भट्टराई, दिवाकर भट्टराई, दीपेन्द्र के खनाल, दिनेश श्रेष्ठ, निर्माताहरू उदय सुब्बा, माधव वाग्ले, रोज राणा, अर्जुन कुमार, कलाकार निर्मल शर्मा, चलचित्र पत्रकार सङ्घका पदाधिकारीहरू सहित सञ्चारकर्मी र चलचित्रकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो ।