“ चैत्रमासि जगद् ब्रह्मा ससर्ज प्रथमेहनि
शुक्ल पक्षे समग्रे तु तदा सूर्योदये सती !”
नयाँ वर्ष हरेक बाह्र महिनामा आउने गर्छ । पोहोर पनि आएको थियो, अहिले पनि आँगनमा आई सकेको छ र आगौँ पनि आउँछ ।
यसरी आउनु खुसीको विषय हो । किनभने यो आशा, विश्वास, अनुभूति र नवीनताको सन्देश लिएर आउने गर्छ ।
* महत्त्व:
हिन्दु धर्मशास्त्रको सिद्धान्त अनुसार नयाँवर्षको शुभारम्भ चैत्र महिनाको शुक्ल प्रतिप्रदाबाट हुन्छ । हाम्रो धार्मिक मान्यता अनुसार भगवान् ब्रह्माले यसै पवित्र तिथि र मितिमा सृष्टिको रचनाको सुरुवात गरेका थिए ।
महान् गणितज्ञ भाष्कराचार्यले प्रतिपादन गरे अनुसार सत्ययुगको शुभारम्भ पनि यसै दिनदेखि भएको थियो ।
यो दिनदेखि प्रकृति पनि आफै बोल्न थाल्छिन् र नयाँवर्षलाई स्वागत गर्छिन् । हामीले प्रकृतिको भाषा र भाव-भंगिमालाई बुझ्न सक्नु पर्छ । अनुभव गर्न सक्नु पर्छ । वृक्ष- वनस्पति हरूले आफ्नो जीर्ण वस्त्रहरू त्यागेर नवीन वस्त्र धारण गर्न थाल्छन् । वायु र वर्षाले प्रकृतिको सर-सफ़ाई सुरु गर्छन् । बोट-बिरुवा र वृक्षहरू अङ्कुरित, पल्लवित, पुष्पित र फलित हुन थाल्छन् । वायुमण्डलमा सुगन्ध र मादकता आउन थाल्छ । पशु- पक्षीहरू पनि खुसीमा कुद्न, रमाउन र गीत गाउन थाल्छन् । यत्र, तत्र सर्वत्र कोइलीको सुमधुर आवाज र मयुरको मनमोहक नृत्य हेर्न पाइन्छ । पुष्प लता हरूको सुगन्धबाट वायुमण्डलमा “सुगंधिम पुष्टिवर्धनम” को परिवेश र वातावरणको निर्माण हुन थाल्छ । भूमण्डल स्वच्छ र सुसज्जित हुन्छ । नवीन परिवर्तनको आभास हुन्छ । तर हामीले महसुस र अनुभूत गर्न सक्नु पर्छ । प्रकृतिको सङ्केत, सन्देश र भाषा हामीले बुझ्न सकिऊँ भने नयाँ वर्ष सँगको सन्निकटता, प्रेम र तादात्म्यता बढेर जान्छ ।
आकाश अथवा अन्तरिक्ष हाम्रो लागि एउटा विशाल प्रयोगशाला हो । ग्रह, नक्षत्र, तारा हरूको प्रभाव र दर्शनले हाम्रो देह, मन र मस्तिष्क, गति र स्थितिमा युति, उदय र अस्तको अनुभूति हुन थाल्छ । भएन भने शारीरिक, मानसिक, सामाजिक अथवा आध्यात्मिक स्वास्थ्य मध्ये कुनै एउटा स्वास्थ्य खराब रहेछ भन्ने बुझ्नु पर्छ र तुरुन्तै चिकित्सकको सल्लाह-परामर्श लिई हाल्नु पर्छ ।
नयाँवर्षको आगमनमा हाम्रो तन, मन, वदन र वतनमा नवीन परिवर्तनको आभास र अनुभूति पैदा हुन्छ र प्रकृतिसँगको सन्निकटता महसुस हुन्छ ।
१. मधुमासको शुभारम्भ हुने दिन
२. वसन्त महिनाको आगमन
३. प्रकृति र पुरुषको शुभारम्भको दिन
४. आभामंडलमा प्रकृतिको स्पर्श भएको दिवस
५. संसारभरि निर्मलता र कोमलताको प्रवेश
६. खेत-बारीमा हरियाली हुनु
७. मन, तन र बदनमा खुसी, उमङ्ग, उत्साह र ऊर्जा प्रवेश हुनु
८. भगवान् रामचन्द्रको राज्याभिषेकको पहिलो दिन
९. शक्ति, भक्ति र आराधनाको नवौँ दिन
१०. नक्षत्रहरू शुभस्थितिमा जाने महान् दिन
११. भगवान् विष्णुको अवतारको पहिलो दिन
१२. आर्यसमाजको स्थापना दिवस
१३. पावन काल: नाशीतोष्ण( न शीत न उष्ण ) आदि-इत्यादि
अतः: नयाँ वर्ष ( नव संवत्सर ) हाम्रोलागि एउटा महानचाड हो । मनुष्ययले प्रकृतिसँग प्रेम गरेको पहिलो दिन हो । सभ्य र भव्य ढङ्गले मनाउनु पर्छ यो दिवसलाई ।
* कसरी मनाउने ?
१. यो दिनमा सबैभन्दा पहिले ब्रह्ममुहूर्तमै उठेर स्नान गरी देवी-देवताको आराधना गर्नु पर्छ ।
२. सबैको कल्याणको निम्ति प्रार्थना गर्नु पर्छ ।
३. आफ्ना नराम्रा बानी हरूलाई आजै देखि परित्याग गरी नयाँ सङ्कल्प ( new resolution)
लिनु पर्छ ।
४. सपरिवार मठ-मन्दिरमा गई पूजा-आजा गर्नु पर्छ ।
५. कुनै नयाँ बोट- बिरुवा लगाएर ( भरसक घरका प्रत्येक सदस्यले ) प्रकृतिलाई स्वागत र सम्मान गर्दै यो धरालाई सुन्दर बनाउनु पर्छ ।
६. साथी-भाइ अथवा घर- परिवारका सदस्य हरूसँग पिकनिक अथवा मनोरञ्जन गृहहरूमा जान सकिन्छ ।
७. कुनै उद्यान ( resort ) अथवा होटेल- रेष्टुराँमा गएर प्रेमपूर्वक खाना खान सकिन्छ ।
८. कुनै टापु अथवा समुद्री उपकुल ( beach ) मा जान सकिन्छ ।
९. वनभोजका लागि जान सकिन्छ आदि-इत्यादि ।
आ- आफ्नो रुचि-अभिरुचि, सामर्थ्य, अनुकूलता, समय, परिवेश र स्थिति- परिस्थिति र अवस्था अनुसार विभिन्न किसिमले यो पर्व मनाउन सकिन्छ ।
अन्त्यमा, यो पङ्क्तिकारको तर्फबाट सबैलाई नयाँवर्षको हार्दिक मङ्गलमय शुभकामना छ ।
नयाँवर्षमा यहाँहरूका सबै चाहना, कामना, सदिच्छा र सपनाहरू साकार होउन् भन्दै म परमपिता परमेश्वरसँग प्रार्थना गर्दछु ।
सबैको कल्याण होस ! जय नेपाल !
कविता: नयाँ वर्ष
तिमी आऊ ! फेरि पनि आऊ
नयाँ वस्त्र परिधान गरेर आऊ,
मेरो आलिंगनमा आऊ
मलाई समाऊ
प्रतीक्षाको घडी लामो हुन्छ
शीघ्र आऊ, तन्दुरूस्त आऊ
म तिमीलाई चुम्बन गर्छु
तिमी मलाई माया गर
आशीर्वाद लिएर आऊ, मस्ती पनि
नयाँ वर्ष ! आऊ तिमी वरदान बनी ।