अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२१ | Colorodo: 21:36

पाकिस्तानको क्वेटामा बम विस्फोट, १६ को मृत्यु

बिआरटीनेपाल २०७५ चैत २९ गते १०:१२ मा प्रकाशित

पाकिस्तानको दक्षिणपश्चिमी शहर क्वेटाको एक फलफूल बजारमा शुक्रबार बिहान सबेरै भएको बम विस्फोटमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । बिस्फोटमा अन्य ३० जना घाइते भएका छन् । बलुचिस्तानका प्रान्तीय प्रहरी प्रमुख मोहसिन बटका अनुसार मारिएका व्यक्तिहरुमा ८ जना अल्पसंख्यक शिया हजारा मुसलमान समुदायका व्यक्तिहरु रहेका छन् ।

ती ८ जनामा पनि एक सुरक्षा अधिकारी र बजारका एक कामदार रहेका छन् । क्वेटामा सहजै पहिचान गर्न सकिने मध्य एसियाली हजारा समूदायमाथि सुन्नी विद्रोही समूहले बेलाबखत आक्रमण गर्ने गरेका छन् । सुन्नी समुदायले हजारा समुदालाई धर्मविरोधीको आरोप लगाउने गर्दछन् । बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटा नजिकको हजारगन्जीमा सो विस्फोट भएको वरिष्ठ प्रहरी अधिकृत अब्दुल रजाक चिमाले जानकारी दिनुभयो ।

यस आक्रमणको कुनै पनि समूहले शुक्रबार बिहानसम्म जिम्मा लिएको छैन । क्वेटा शहरको कूल जनसंख्या २३ लाखमध्ये पाँच लाख हजारा समूहका व्यक्तिहरु छन् । हजाराहरुलाई लडाकू समूहले प्रायः आक्रमण गर्ने गरेको र फलफूल बजार आउँदा पनि प्रहरीले सुरक्षा दिने गरेको प्रहरी प्रमुख बटले जानकारी दिनुभयो ।

पाकिस्तानको उत्तरपश्चिम शहर पेसावरमा अवस्थित एक सैनिक विद्यालयमा सन् २०१४ तालिबान लडाकू समूहले गरेको भीषण आक्रमणपछि पाकिस्तानमा उल्लेखनीय रुपमा हिंसा घटेको अनुमान गरिँदै आएको थियो । उक्त आक्रमणमा बालबालिका सहित १५० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू