आसन्न बजेटबारे अध्ययन गर्न सांसदको दुई टोलीले देशब्यापी भ्रमण गर्ने भएको छ । सांसदको एक टोली पूर्व र एक टोली पश्चिममा गई आर्थिक वर्ष २०७६/७७ मा समावेश गर्नुपर्ने योजनाका विषयमा छलफल गर्न लागेको हो । संसदको अर्थ समितिले नेपाल कम्युनिस्ट पार्टीका नेता सुरेन्द्र पाण्डे र नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीको नेतृत्वमा समिति गठन गरी बजेटबारे अध्ययन गर्न पठाउन लागेको हो ।
कार्की नेतृत्वको टोलीले प्रदेश १, २ र ३ तथा पाण्डे नेतृत्वको टोलीले गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा गई बजेटबारे छलफल गर्ने छ । पूर्वी क्षेत्रमा जाने टोलीमा सांसद टोलीप्रमुख कार्कीसँगै जुलीकुमारी महतो, प्रमिला राई मेटमणि चौधरी, मोतीलाल दुगड, रामबाबु कुमार यादव र सरवत आरा खान लगायत रहनुभएको छ ।
त्यस्तै पश्चिम क्षेत्र जाने टोलीमा टोलीप्रमुख पाण्डेसँगै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, घनश्याम भुसाल, हरिराज अधिकारी, रामकुमारी झाँक्री, जयकुमार राई, तुलसी थापा हुनुहुन्छ । टोलीले प्रदेश सरकार, स्थानीय सरकारका प्रतिनिधि र निजी क्षेत्रका प्रतिनिधिलाई एकै ठाउँमा राखेर बजेट र योजनाबारे अन्तक्र्रिया गर्ने समिति सभापति कृष्णप्रसाद दाहालले जानकारी दिनुभयो ।
त्यस्तै बजेट कार्यान्वयन र बजेटमा समावेश गर्नुपर्ने योजनाबारे पनि छलफल गर्नेछ । दुबै टोली अध्ययनबाट फर्केपछि प्रतिवेदन तयार गरी संघीय सरकारलाई बजेट निर्माणका लागि सुझाव र निर्देशन दिने अर्थ समितिले जानकारी दिएको छ ।