माल्दिभ्समा भएको संसदीय निर्वाचनमा राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहको पार्टीले भारी बहुमत प्राप्त गरेको छ । संसदका ८७ सिटका लागि भएको मतदानमा ६० भन्दा बढी सिट राष्ट्रपति सोलिहको द माल्दीभीयन डेमोक्र्याटिक पार्टीले जितेको हो । मतगणनाको अन्तिम नतिजा आइबार सार्वजनिक गरिएको हो ।
संसदीय चुनावमा पार्टीले भारी बहुमत प्राप्त गरेपछि पूर्व राष्ट्रपति एवम् पार्टीका संस्थापक नेता मोहमद नासिद पनि स्वदेश फर्किने हुनुभएको छ । उहाँ केही वर्षदेखि निर्वासन जीवनमा रहनुभएको थियो । आफ्नो पार्टीले अभूतपूर्व मत प्राप्त गरेपछि पूर्व राष्ट्रपति नासिदले अब मुलुकमा प्रजातन्त्रलाई मजबुद बनाउने लामो बाटो तय गर्ने प्रतिक्रिया दिनुभएको छ । नासिद माल्दिभ्सको पहिलो जननिर्वाचित राष्ट्रपति हुनुहुन्थ्यो ।
माल्दिभियन डेमोक्र्याटिक पार्टीले न्यापालिकामा सुधार तथा लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको एजेण्डा लिएर चुनावी मैदानमा उत्रिएको थियो । उहाँ सन् २००८ मा राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । तर सन् २०१६ मा अब्दुला एमिनको शासनकालमा एक विवादास्पद निर्णयले निर्वासित हुन बाध्य हुनुभएको थियो ।