अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४५ | Colorodo: 05:00

चीनसंगको व्यापार वार्ता चार हप्तामा टुङ्ग्याउन ट्रम्पको निर्देशन

बिआरटीनेपाल २०७५ चैत २२ गते १०:०१ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिका र चीनबीच एक महिनाभित्रै महत्वपूर्ण व्यापार सम्झौता हुने बताउनुभएको छ । दुबै मुलुकबीच नौ महिनादेखि जारी व्यापार युद्धले विश्व अर्थतन्त्रमै समस्या निम्त्याएको छ । अमेरिका र चीन सहित विश्वका प्रमुख अर्थतन्त्र भएका मुलुकहरुको आर्थिक वृद्धि घट्दै गएको विभिन्न अध्ययनहरुले देखाएका छन् । बहुप्रतिक्षित अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको अन्तिम व्यापार वार्ता र सम्झौतामा हस्ताक्षर हुने मितिमा विश्व समुदाय प्रतिक्षारत रहेको छ । तर चिनियाँ र अमेरिकी व्यापार प्रतिनिधिहरुले दुई नेताको भेटवार्ताको मिति घोषणा गर्न सकेका छैनन् ।

दुवै देशका व्यापार प्रतिनिधिबीच वासिङ्टनमा शुक्रबार पनि वार्ता हुँदैछ । अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले केही महत्वपूर्ण विषयमा सहमति हुन अझै बाँकी रहेको प्रतिक्रिया दिनुभएको छ । अमेरिका र चीनले एकअर्का मुलुकका करिब तीन खर्ब ६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । यो करवृद्धि हाल १० प्रतिशत रहे पनि व्यापार वार्तामा सहमति नभए २५ प्रतिशत पु¥याइने अमेरिकी राष्ट्रपतिले चेतावनी दिनुभएको छ ।

चीनको संरक्षणमुखी नीतिकै कारण अमेरिकासँग चीनको व्यापार घाटा ६ खर्ब डलरभन्दा माथि पुगिसकेको अमेरिकी भनाई छ । चीनले अमेरिकी आरोपको खण्डन गरिरहेको छ । चीनले खुला विश्व व्यापारमा अमेरिकी नीतिहरु बाधक बन्न थालेको र अमेरिकी राष्ट्रपतिका नीतिहरु संरक्षणवादी शैलीका रहेको बताउँदै आएको छ । चीनले अमेरिकी नीतिको विरोध गर्दै विश्व व्यापार संगठनमा समेत उजूरी गरेको छ ।

यसैबीच, चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन–अमेरिका आर्थिक तथा व्यापार सम्झौताको पाठमा महत्वपूर्ण प्रगति भएकामा खुशी व्यक्त गर्नुभएको छ । अमेरिकी राष्ट्रपतिलाई आफ्ना व्यापार प्रतिनिधि उपप्रधानमन्त्री लिऊ हेमार्फत पठाएको सन्देशमा राष्ट्रपति चिनफिङले दुबै देशबीच जतिसक्दो चाँडो नयाँ सम्झौता हुने विश्वास व्यक्त गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू