अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५५ | Colorodo: 03:10

राहुल गान्धी दुई ठाउँबाट चुनाव लड्ने

बिआरटीनेपाल २०७५ चैत १७ गते ९:४६ मा प्रकाशित

भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता एके एन्टोनीले पार्टी अध्यक्ष राहुल गान्धी दुई ठाउँबाट निर्वाचन लड्ने बताउनुभएको छ । केरलाको वायानाड निर्वाचन क्षेत्रबाट पनि गान्धीले लोकसभाका लागि प्रतिस्पर्धा गर्ने उहाँले जानकारी दिनुभयो । गान्धीले यसअघि उत्तर प्रदेशको अमेठीबाट निर्वाचन लड्ने घोषणा भइसकेको छ ।

गान्धी दुई ठाउँबाट निर्वाचन लड्ने विषयले अहिले भारतमा नयाँ बहस सृजना गरिदिएको छ । कांग्रेसका नेताहरुले यसलाई आवश्यकताका रुपमा व्याख्या गरेका छन् भने प्रमुख प्रतिस्पर्धी भारतीय जनता पार्टी (भाजपा)का नेताहरुले गान्धी भागेको, डराएको वा आफ्नो एक ठाउँको जितमा ढुक्क हुन नसकेको भन्ने गरेका छन् ।

‘पार्टीका नेता तथा कार्यकर्ताहरुले विगत लामो समयदेखि अध्यक्ष राहुल गान्धी दुई ठाँउबाट निर्वाचन लड्नु पर्ने माग र चाहना व्यक्त गर्दै आएका थिए, उनीहरुले उहाँलाई भारतको दक्षिणी क्षेत्रबाट निर्वाचन लड्न आग्रह गर्दै आएका थिए,’ एन्टोनीले भन्नुभएको छ । उहाँले अध्यक्ष गान्धीलाई विषेशगरेर कर्नाटक, केरला र तमिलनाडुमध्ये कुनै प्रदेशको निर्वाचन क्षेत्रबाट चुनाव लड्न दवाव आएको जानकारी दिनुभयो । धेरैतिरबाट निर्वाचन लड्नका लागि आग्रह गरेपनि अन्त्यमा उनी वायानाडबाट उम्मेदवार बन्न मन्जुर भएको अन्टोनीले बताउनुभयो ।

यो निर्वाचन क्षेत्रका लागि कर्नाटकका पूर्व मुख्यमन्त्री तथा कांग्रेस नेता सिद्धरमैयाले यही मार्च १५ मा अध्यक्ष गान्धीलाई आग्रह गरेका थिए । यसअघि मार्च ७ मा कांग्रेसले घोषणा गरेको पार्टीबाट निर्वाचन लड्नेहरुको पहिलो सूचीमा अध्यक्ष गान्धी अमेठीबाट मात्रै उम्मेदवार बन्ने उल्लेख थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू