अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३७ | Colorodo: 13:52

भेनेजुएलाका विपक्षी नेता गुएदोमाथि १५ वर्षका लागि प्रतिबन्ध

बिआरटीनेपाल २०७५ चैत १५ गते १०:०९ मा प्रकाशित

भेनेजुएला सरकारले विपक्षी नेता हुवाँ गुएदोमाथि प्रतिबन्ध लगाएको छ । सरकारका वित्त नियन्त्रक एल्भिस अम्रसोले स्वघोषित राष्ट्रपति गुएदोमाथि वित्तीय अपराध र सम्पत्ति शुद्धिकरणमा कसुर देखाउँदै १५ वर्षका लागि कुनै पनि सार्वजनिक पद धारण गर्न नपाउने गरी प्रतिबन्ध लगाएको जानकारी दिनुभएको छ ।

गुएदो हाल विपक्षीहरुको नियन्त्रणमा रहेको राष्ट्रिय परिषद्का प्रमुख हुनुहुन्छ । सरकारी प्रतिबन्ध लागु भए उहाँले आगामी १५ वर्षसम्म कुनै पनि सार्वजनिक पदमा नियुक्ति लिन र चुनावमा उठ्न पाउनु हुने छैन । भेनेजुएलाको संविधानले आर्थिक अपचलन र सम्पत्ति शुद्धिकरण मुद्दामा अधिकतम १५ वर्षसम्म प्रतिबन्ध लगाउन सक्ने प्रावधान राखेको छ ।

राष्ट्रपति निकोलस मदुरोको प्रशासनले अहिले यही प्रावधानमाथि टेकेर आफ्नो राजनीतिक प्रतिस्पर्धीहरुलाई निशाना बनाउँदै आएको छ । नेता गुएदोले भने आफुमाथि प्रतिबन्ध लगाउने सरकारी कदम नै गैरकानुनी भएको टिप्पणी गर्नुभएको थियो । छानविन र कारवाही गर्ने निकायको आधिकारिकतामाथि उहाँले विमति राख्नुभएको छ ।

भेनेजुएलामा गत जनवरीमा गुएदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि संकट चुलिएको छ । गुएदो र राष्ट्रपति मादुरोका समर्थकहरुले दिनहुँ प्रदर्शन गरिरहेका छन् । गुएदोलाई अमेरिका, ल्याटिन अमेरिका र युरोपका झण्डै ५० देशले समर्थन गरिसकेका छन् । चीन, रुसलगायतका शक्ति राष्ट्रहरु भने राष्ट्रपति मदुरोकै पक्षमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू